जेन–जी आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा गरिएको तोडफोड, आगजनी र आक्रमणले नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। आन्दोलनको छोटो अवधिमा सार्वजनिक सम्पत्तिदेखि निजी व्यवसायसम्ममा व्यापक क्षति पुगेको छ, जसले अर्थतन्त्रलाई फेरि संकटतर्फ धकेलेको छ।
२०७२ को विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र कोभिड–१९ महामारीपछिको असरबाट विस्तारै उठ्दै गरेको नेपाली अर्थतन्त्र पुनः अस्थिरता र अनिश्चितताको चपेटामा परेको हो। आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपतिको कार्यालय, प्रहरीका कार्यालय, वडा कार्यालयहरूजस्ता सरकारी संरचनामा तोडफोड र आगजनी गरिएको थियो।
त्यससँगै हिल्टन होटल, एनसेल, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, हार्डवेयर पसलहरू, केबलकार, गोदाम र सवारी साधनका सोरुमहरूजस्ता निजी व्यवसायमाथि आक्रमण भएको थियो। व्यवसायीहरूका अनुसार क्षतिको आंकलन अर्बौँमा पुगेको छ।
यस्ता घटनाहरूको प्रत्यक्ष असर सेवा प्रवाह, आर्थिक गतिविधि, रोजगारी, पर्यटन, लगानी र राजस्व प्रणालीमा पर्ने देखिएको छ। सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले ठूलो मात्रामा खर्च गर्नुपर्ने देखिएको छ, जसको असर अन्य पूर्वाधार विकास योजनाहरूमा पर्ने सम्भावना उच्च छ।
विश्लेषकहरूका अनुसार निजी व्यवसायमा आक्रमण हुँदा त्यसले लगानीकर्ताको मनोबल खस्काउने, रोजगारीको अवसर घटाउने र विदेशी लगानीलाई समेत प्रभावित गर्ने सम्भावना छ। नेपालमा लगानीको सुरक्षामाथि प्रश्न उठ्ने अवस्था आएको छ, जसले दीर्घकालीन रूपमा अर्थतन्त्रको गतिमा असर पुर्याउनेछ।
अहिलेसम्मको तथ्यांक अनुसार, आन्दोलनका क्रममा भएका क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन। तर, विगतका विपद्हरूलाई हेर्दा यस्तो स्तरको पुनर्निर्माणमा अर्बौँ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा सरकारले ६ खर्बभन्दा बढी खर्च गरेको थियो। त्यसैगरी, कोभिड–१९ को रोकथाम, उपचार तथा पुनरुत्थानका लागि दुई वर्षमा ५६ अर्ब रुपैयाँ खर्च भएको थियो। ती खर्चका कारण सार्वजनिक ऋण उच्च भएको पृष्ठभूमिमा हालको क्षतिको पुनरुत्थान थप चुनौतीपूर्ण हुने देखिएको छ।
अर्थतन्त्रमा पुनः स्थायित्व ल्याउन तथा लगानीमैत्री वातावरण पुनर्स्थापना गर्न राज्य र सरोकारवालाबीच सहकार्य र संयमता आवश्यक देखिएको छ।


