Banijya News

राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २५ किलो पुर्‍यायो

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ। पहिले दैनिक २० किलो मात्र आयात गर्न सकिने व्यवस्था रहेकोमा अब यसलाई २५ किलो पुर्‍याइएको हो।

केन्द्रीय बैंकको निर्णय अनुसार, अब दैनिक २५ किलोसम्म सुन आयात गर्न वाणिज्य बैंकहरू सक्षम हुनेछन्। बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी सर्वसाधारणमा गहनाको रूपमा बिक्री वितरण गर्नेछन्।

बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।

साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो ।

दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ । असोज २० गतेसम्ममा बैंकहरुसँग ३२ किला मात्रै सुन बक्यौता रहेको बैंकहरू बताउँछन ।

नेपाल बैंकर्स संघका अनुसार बुधबार मात्रै सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकले शुक्रबार सोही परिमाणमा सुन आयात गर्ने संघले जनाएको छ।

लगानीकर्ताका लागि तुलनात्मक रुपमा सुनको लगानी सुरक्षित हुने भएकाले पनि माग बढेको सुन चाँदी व्यवसायीहरू बताउने गरेका छन् । शुक्रबार मात्रै प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार कायम भएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको हो ।

केन्द्रीय बैंकका अनुसार नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिन्छ ।

यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी आएको रेमिट्यान्स प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

1

Scroll to Top