Banijya News

हबिबलाई हिमालन बैंकको संस्थापक शेयर विक्री गर्न राष्ट्र बैंकको स्वीकृति

1
1.2K Shares

हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्सलाई विक्री गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच साउन अन्तिम साता सम्झौता भएको थियो । दुवै पक्षबीच भएको सम्झौता अनुसार कारोबार गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

‘हबिबको नाममा रहेका शेयर नेशनल लाइफलाई विक्री गर्न राष्ट्र बैंकबाट स्वीकृति पाएका छौं,’ उनले भने, ‘अब शेयर हस्तान्तरणको प्रक्रिया अघि बढाउछौं ।’

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक शेयर विक्री गर्न पाइँदैन ।

त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर विक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।

हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा संस्थापक शेयर खरीदका लागि संस्थापक शेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । सूचनामा बैंकको शेयर मूल्य न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिए पनि नेशनल लाइफले प्रतिकित्ता ६ रुपैयाँ ८ पैसा बढीमा खरीद गर्ने प्रस्ताव गरेको हो ।

हाल हिमालयन बैंकमा नेशनल लाइफको १ दशमलव २५ प्रतिशत शेयर छ । यो शेयर खरीदपछि हिस्सा १४ प्रतिशत पुग्नेछ ।

हबिबको यसअघि दुईपटक आफ्नो शेयर बेच्ने प्रयास असफल भएपछि उक्त बैंकले तेस्रोपटक पुनः शेयर विक्रीको प्रयास अघि बढाएको हो । ४ वर्षअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)सँग शेयर विक्री सम्झौता गरेपनि हिमालयनका सञ्चालकको विरोधपछि भाँडिएको थियो ।

त्यसपछि २०८० मंसिरमा हबिब बैंकले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई आफ्नो स्वामित्वको शेयर विक्री गर्ने प्रयास गरेको थियो । हबिब र हिमालयन रिबीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेच सम्झौता भएपनि राष्ट्र बैंकले स्वीकृति नदिएपछि आवेदन नै फिर्ता लिएको थियो ।

राष्ट्र बैंकले हबिबलाई प्रक्रिया पूरा गरेर मात्र शेयर बिक्री गर्न भनेपछि हिमालयन बैंकले गत जेठमा सार्वजनिक सूचना जारी गरी शेयर विक्री प्रक्रिया शुरु गरेको हो ।

1

Scroll to Top