Banijya News

घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी

1
1.2K Shares

गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा चालु आवको सोही अवधिमा घरजग्गा राजस्व संकलनमा कमी आएको छ । गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवमा जग्गाको कारोबार ६ प्रतिशत र राजस्वमा ८ प्रतिशतले कमी आएको हो ।

गत आवको ३ महिनाको तुलनामा ८३ करोड रुपैयाँले राजस्व घटेको छ । गत आवको साउन, भदौ र असोजमा १० अर्ब राजस्व संकलन हुँदा चालु आवमा घटेर ९ अर्ब १७ करोडमात्र संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यद्यपि, जग्गा कारोबार भने गत आवमा ३ लाख ४२ हजार र चालु आवमा ३ लाख २१ हजार रहेको छ ।

गत महिनासम्म पनि जग्गाबाट संकलन हुने राजस्वमा ५० करोड रुपैयाँले कमी आएको थियो । गत वर्षको साउनमा जग्गाबाट संकलन हुने राजस्व ३ अर्ब ८३ करोड हुँदा चालु आवमा घटेर ३ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ । यसैगरी गत भदौमा ३ अर्ब ९ करोड संकलन भएकोमा चालु आवमा ३ अर्ब १४ करोड राजस्व संकलन भएको छ । गत आवको असोजमा ३ अर्ब ८ करोड संकलन भएकोमा चालु आवमा २ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको तथ्यांक छ । देशमा भएको राजनीतिक आन्दोलनले जग्गा किनबेचको काम हुन नसक्दा त्यसको असर राजस्वमा परेको हो ।

अधिकांश पालिकाले जग्गा वर्गीकरणको काम नसकेका कारण यो आर्थिक वर्षको सुरुको ३ महिनामा कारोबार समान भए पनि राजस्व संकलनमा कमी आएको छ । गत महिना कम मूल्यका जग्गा कारोबार बढी भएका कारण राजस्वमा कमी आएको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जस्तो जग्गा कारोबार र राजस्वमा ठूलो उतारचढाव नआएर सामान्य नै देखिएकाले यो वर्ष पनि यस क्षेत्रको कारोबार विगत दुई आवको जस्तै हुने प्रारम्भिक संकेत देखिएको छ ।

सरकारले अघिल्लो साउनबाट जग्गाको कित्ताकाट खुला गरेको भए पनि जग्गाको कारोबारबाट आउने राजस्वमा भने कमी आएको छ । घरजग्गामा निजी क्षेत्रको ठूलो लगानी रहेका कारण यसको कारोबारबाट संकलन हुने राजस्वले सरकारको आय समेत बढ्ने क्रम देखिएको छ । हाल जग्गा कारोबारमा अंशबण्डा, मोही बाँडफाँड, सार्वजनिक बाटो र सरकारी जग्गा कित्ताकाट लगायतका काम भइरहेका छन् । घरजग्गा व्यवसायीले १–२ महिनाको तथ्यांकलाई हेरेर मात्र यो वर्षको जग्गा कारोबार भन्न सकिने आधार नभए पनि गत आवमा जग्गा कारोबार सामान्य वृद्धि भएकाले यसको चहलपहल हुने वातावरण बनेको बताउँदै आएका छन् ।

चालु आवको मौद्रिक नीतिले निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरेको छ । पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने नीतिमा उल्लेख छ । हाल देशभर ३ खर्ब रुपैयाँ रियल स्टेटमा ऋण लगानी रहेको छ । यसको दोब्बर लगभग ५ खर्ब व्यवसायीको अनुमानित लगानी रहेको छ । पछिल्लो समय घरजग्गामा लगानी बढेर ८ खर्ब पुगे पनि कारोबार बढ्न नसक्दा समग्र अर्थतन्त्रमा नै असर परेको छ ।

1

Scroll to Top