Banijya News

वाणिज्य विभागले हलेसी मार्टलाई तिरायो दुई लाख जरिवाना

1
1.1K Shares

पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।

विभागले भक्तपुरको मध्यपुर थिमीमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख जरिवाना गरेको छ। सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को (१) बमोजिम कारबाही गरिएको हो। विभागले काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको हो।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ।

उपभोक्ता संरक्षण ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहायबमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ। ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

विभागले काठमाडौँ १६ क्षेत्रपाटीको होम मेड स्पाइन्स एण्ड टीसपलाई २० हजार, जिकेएसएस इन्टरप्राइजेज प्रालि गट्ठाघरलाई १० हजार, आशिष ट्रेड लिङ्क क्षेत्रपाटीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले आईके सर्जिकल सप्लायर्स क्षेत्रपाटी काठमाडौँलाई ५५ हजार रुपैयाँ जरिवाना रकमसहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ। सिटी मिनरल वाटर एण्ड वेभरेज प्रालि टोखा–८ काठमाडौँलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य सात वटा उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन दिएको छ।

1

Scroll to Top