चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीमध्ये आधाभन्दा बढी खुद नोक्सानीमा छन् ।
१५ फाइनान्स कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय अवस्था हेर्दा आठओटा खुद नोक्सानीमा रहेको देखिन्छ । इम्पेरमेन्ट चार्ज रकम बढ्दा आधाभन्दा बढी फाइनान्स कम्पनी खुद नोक्सानीमा पुगेका हुन् । नाफामा रहेका कम्पनीको पनि नाफा घटेको देखिएको छ ।
पहिलो त्रैमाससम्ममा खुद नाफामा रहेका सात कम्पनीमा मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्स छन् । खुद नाफामा रहेका यी कम्पनीमध्ये जानकी गतवर्ष पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेकोमा यस वर्ष खुद नाफामा गएको छ । यसबाहेक बाँकी ६ कम्पनी खुद नाफामै रहे पनि गत वर्षको तुलनामा सबैको खुद नाफा घटेको छ ।
समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र रिलायन्स फाइनान्स भने खुद नोक्सानीमा छन् । यी कम्पनीको खुद नाफामा इम्पेरमेन्ट चार्जको भार परेको हो । यस वर्ष खुद नोक्सानीमा रहेका कम्पनीमध्ये प्रोग्रेसिभ फाइनान्स र गोर्खाज फाइनान्स गतवर्ष खुद नाफामा थिए । यी दुई कम्पनीको यस वर्ष इम्पेरमेन्ट चार्ज बढेसँगै खुद नोक्सानीमा पुगेका हुन् ।
गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट सृजना भएको परिस्थितिका कारण फाइनान्स क्षेत्रमात्र नभई समग्र वित्तीय क्षेत्रमै असर परेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनील पन्तको भनाई छ ।
पहिलो त्रैमासमा आन्दोलनको प्रभावले नगद प्रवाह कम हुनु, कर्जाको माग घट्नुजस्ता कारण समग्र वित्तीय प्रणालीमा देखिएका असर फाइनान्स कम्पनीहरूमा पनि परेको उनको भनाइ छ । पहिलो त्रैमासमा चाडपर्वको माहोलका कारण समग्र वित्तीय प्रणालीमै कारोबारमा शिथिलता आउने हुँदा वित्तीय रूपमा कम्पनीहरू केही कमजोर देखिए पनि आगामी त्रैमासमा त्यसमा सुधार हुने उनको अपेक्षा छ ।
पछिल्लो तथ्यांक हेर्दा मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गतवर्ष पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ४२ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष सबैभन्दा बढी खुद नाफा गर्ने मञ्जुश्री फाइनान्सको समेत खुद नाफा ५० दशमलव ७६ प्रतिशत कम भएको छ । खुद नोक्सानी भने सबैभन्दा बढी रिलायन्स फाइनान्सको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको रिलायन्स फाइनान्सको खुद नोक्सानी यस वर्ष १८६ दशमलव ३८ प्रतिशत बढेको छ ।


