भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्भाव्यता अध्ययन नै नगरी जोखिमपूर्ण स्थानमा हेलिपोर्ट बनाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो। विशेष अदालतले शुक्रबारसम्म अधिकारीलाई अख्तियारकै हिरासतमा राख्न अनुमति दिएको छ।
सञ्चालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ, लागत विश्लेषणविना अस्वाभाविक रकम खर्च गरी हेलिपोर्ट निर्माण गरेको देखिएको अख्तियारको निष्कर्ष छ । यस्तै, बदनियतपूर्ण तरिकाले हेलिपोर्ट आयोजना अघि बढाएको, कानुन पालना नगरेको र अनेकौँ प्रक्रियागत त्रुटिसमेत भएको अख्तियारले औँल्याएको छ । उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा आउन नसकेकाले सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी तथा दुरुपयोग भएको तथ्य पुष्टि भएको अख्तियारको ठहर छ ।
हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेकामा प्रतिवादी कायम गर्दै प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ नै गरेर मुद्दासहित अदालतमा उपस्थित गराएको छ । प्राधिकरणका प्रबन्धक नलबिक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ पनि प्रतिवादी छन् । उनीहरू सबैविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो छ । यही नै संयुक्त बिगो कायम गरेर अख्तियारले परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अधिकारीविरुद्ध धेरै उजुरीउपर अख्तियारले छानबिन गरिरहेको छ । छानबिनका क्रममा बयानका लागि उनलाई बुधबार अख्तियारले केन्द्रीय कार्यालय टंगालमा डाकेको थियो । नियमित तारेखका क्रममा उनी अख्तियार पुगेका थिए । बयान दिन अख्तियार पुगेका व्यक्तिलाई पुनः अर्कोपटक बयानका लागि उपस्थित हुन अनुसन्धान अधिकृतले तारेखपर्चा खडा गरेर तारेखभर्पाईमा हस्ताक्षर गराउने अभ्यास हुन्छ ।
यसै सिलसिलामा अधिकारी नियमित तारेखमा अख्तियार पुगेका थिए । यही मौकामा अख्तियारले अधिकारीलाई नियन्त्रणमा लिएर मुद्दासहित विशेष अदालत लिएर गएको थियो । स्रोतका अनुसार हेलिपोर्टको मुद्दा चलाउने निर्णय अख्तियारले दुई दिनअघि नै गरिसकेको थियो । पछिल्लो समय विशेष अदालतले मुद्दासहित प्रतिवादी उपस्थित नगराएको भन्दै बारम्बार टिप्पणी गरिरहेको अख्तियारका अधिकारीहरू बताउँछन् । यसपछि अख्तियारले यथाशक्य प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउने अभ्यास थालेको छ ।
हेलिपोर्टको डिपिआरको तयारीका लागि परामर्शसेवा खरिद गर्न इन्जिनियर श्रेष्ठको अध्यक्षतामा तयार प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन प्रतिवेदन हेर्दा कुनै पनि नेपाली परामर्शदातामा एयरपोर्ट–हेलिपोर्टको डिपिआर तयार गरेको अनुभव भएको नदेखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अभियोगपत्रमा उल्लेख भएअनुसार हेलिपोर्ट संरचना नेपालमा नै पहिलो रहेको र सोसम्बन्धमा अध्ययन अनुभव भएको परामर्शदाता नेपालमा रहेको अवस्था थिएन ।
यसरी बन्यो जोखिमपूर्ण स्थलमा हेलिपोर्ट बनाउने योजना ?
सम्भाव्यता अध्ययनको विषय सम्बोधन नगरी विभाग प्रमुख भण्डारीले आर्थिक वर्ष ०७८/७९ को सूचीमा रहेका अभियन्त्र कन्सल्टिङ प्रालिसमेतका तीनवटा परामर्शदाताबाट आर्थिक–प्राविधिक प्रस्ताव माग गरी खरिद प्रक्रिया अघि बढाएको देखिएको छ । हेलिपोर्टको संवेदनशील संरचना निर्माणको डिजाइन, लागत र ड्रइङ तयार गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आशयपत्र माग गरी सम्बन्धित कार्यमा अनुभव रहेका परामर्शदाता, विज्ञ सहभागी हुने गरी परामर्शदाताको छनोट गर्नुपर्ने हुन्थ्यो ।
तर, त्यसो नगरी प्रचलित सार्वजनिक खरिद कानुनको प्रतिकूल हुने गरी हेलिपोर्टको योजना तर्जुमा–डिजाइन–निर्माणसम्बन्धी कुनै अनुभव नै नभएको परामर्शदाताबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरे/गराएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘प्रचलित कानुनको प्रतिकूल रहेको थाहा हुँदाहुँदै प्रतिवादीहरूबिचको एकआपसको मिलेमतोमा गैरकानुनी स्वार्थ पूरा गर्न खरिद प्रक्रिया अघि बढाएको,’ अख्तियारको दाबी छ ।
हेलिपोर्टको डिपिआरको तयारीका लागि परामर्शसेवा खरिद गर्न इन्जिनियर श्रेष्ठको अध्यक्षतामा तयार प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन प्रतिवेदन हेर्दा कुनै पनि नेपाली परामर्शदातामा एयरपोर्ट–हेलिपोर्टको डिपिआर तयार गरेको अनुभव भएको नदेखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अभियोगपत्रमा उल्लेख भएअनुसार हेलिपोर्ट संरचना नेपालमा नै पहिलो रहेको र सोसम्बन्धमा अध्ययन अनुभव भएको परामर्शदाता नेपालमा रहेको अवस्था थिएन ।
सुरुआतमा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर समृद्धि श्रेष्ठले नलिन्चोकमा नयाँ हेलिपोर्टको सम्भाव्यता अध्ययन गरेका थिए। उनले सम्भाव्यता अध्ययन स्वीकृतिका लागि टिप्पणी पेस गरे। प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख निर्देशक मुरारी भण्डारीले टिप्पणी स्वीकृतका लागि तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीसमक्ष ०७८ मंसिर ८ गते पेस गरेका थिए। अख्तियारको अनुसन्धानअनुसार उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक क्षेत्रीले ‘सम्भाव्य देखिएमा मात्र प्रक्रिया अगाडि बढाउने गरी स्वीकृत’ भनी सोही दिन टिप्पणी आदेश स्वीकृत गरेका थिए। त्यसपछि सम्भाव्यता अध्ययनसम्बन्धी बाँकी कार्य अगाडि बढाउने जिम्मेवारी एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख निर्देशक भण्डारीकै हातमा आयो।
भण्डारी र इन्जिनियर समृद्धि श्रेष्ठ नै संलग्न रही नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने विषय स्वीकृत गरेका थिए। अख्तियारका अनुसार सम्भाव्यता अध्ययन गर्नेतर्फ प्रक्रिया नै अघि नबढाई, विभागका महानिर्देशकलाई जानकारी नगराई बदनीयत राखेर इन्जिनियर श्रेष्ठ र निर्देशक भण्डारी संलग्न रही नलिन्चोक हेलिपोर्टको डीपीआर तयार गर्नका लागि टर्मस अफ रिफरेन्स(टीओर), रिक्वेस्ट फोर प्रोपोजल(आरएफपी) र लागत अनुमानसमेत तयार गराइएको थियो।
अख्तियारको अनुसन्धानमा ०७८ मंसिर २२ को टिप्पणी आदेश निर्देशक भण्डारी आफैंले स्वीकृत गरी नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणको डिजाइन, स्टिमेट र ड्रइङ तयार गर्नुपर्ने भनी परामर्श सेवा खरिद गर्न आवश्यक प्रक्रिया सुरु गरेका थिए।
‘हेलिपोर्ट जस्तो अति संवेदनशील संरचना निर्माण पूर्वअनिवार्य गर्नुपर्ने सम्भाव्यता अध्ययन, सरोकारवाला तथा विज्ञसँगको परामर्श एवं सञ्चालक समितिमा छलफलसमेत नगरी बदनीयत राखी यो कार्य गरेको’ अख्तियारको अनुसन्धान प्रतिवेदनमा छ। हेलिपोर्ट निर्माणका लागि आर्थिक वर्ष ०७८÷०७९ मा अभियन्त्र कन्सल्टिङ प्रालिसमेतका ३ वटा परामर्शदाताबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरी खरिद प्रक्रिया अगाडि बढाएको थियो। जबकि, अभियन्त्र कन्सल्टिङसँग विमानस्थल र हेलिपोर्टको डीपीआर तयार गरेको अनुभव पनि थिएन।
यस्तो छ खतरायुक्त ठाउँ नै रोज्नुको कारण ?
विभिन्न अध्ययनले पनि नलिन्चोकमा हेलिपार्ट निर्माण गर्नु खतरा र जोखिमपूर्ण रहेको जानकारी अख्तियारको आरोपपत्रमा उल्लेख छ । ०८० साउन ११ को बैठकबाट गठन भएको कार्यदलले उक्त नलिन्चोक हेलिपोर्ट आसपास विद्यालय र घर रहेको, आवश्यक सुविधा(इम्पोर्टटेन्ट फेसिलिटी) नरहेको भनी स्वीकार गरेको देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल सञ्चालन विभाग प्रमुख सुभाष झाको संयोजकत्वमा गठित समितिले ०८० मंसिर २६ मा परीक्षण उडानसमेत गरी २०८० पुस ११ गते प्रतिवेदन पेस गरेका थिए।
यो प्रतिवेदनले पनि उडानको बखत खतरा र जोखिम हुन सक्ने भनेको छ। प्रतिवेदनमा हेलिपोर्ट निर्माण गर्दा उक्त क्षेत्रमा करिब २०० मिटर सम्मको दूरीमा रहेका जग्गावरपरको झन्डै ३००–४०० जति घरधुरी प्रभावित हुन सक्ने बताइएको छ। प्रतिवेदनले जहाज सुरक्षामा कुनै पनि बखत खतरा निम्तिन सक्ने पनि सुझाएको देखिएको छ। साथै हवाई सुरक्षाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यात्रु चेकिङ कक्षलगायत सुरक्षाकर्मी बस्ने ब्यारेक सुरक्षा डियुटी पोस्टहरूको व्यवस्था नरहेको, काठमाडौं टावरसँग विमानको सञ्चार सम्पर्कका लागि आवश्यक पूर्वाधारहरूको व्यवस्थापन हेतु छुट्टै भवन नरहेकाले व्यवस्थापनमा समस्या रहेको पनि प्रतिवेदनम उल्लेख भएको देखिएको छ।
मौसमी पूर्वाधारहरूको व्यवस्थापन नभएकोले भिजिबिलिटीलगायत अन्य आवश्यक डाटा यकिन गर्न अप्ठ्यारो पर्ने, इन्धन हाल्न लागि छुट्टै व्यवस्था नभएको, अरनिको राजमार्गबाट हेलिपोर्टसम्म पुग्ने बाटो साघुँरो रहेको पनि प्रतिवेदनले औंल्याएको थियो। हेलिपोर्ट क्षेत्रमा उच्च भोल्टज क्षमताको विद्युत् प्रसारण लाइन रहेकाले उडान सुरक्षामा गम्भीर चुनौती रहेको, उक्त स्थानमा हेलिकप्टर सञ्चालनका लागि अन्य पूर्वाधारहरू नभएकाले तत्कालै सञ्चालनमा ल्याउन नसकिने देखिएकोलगायत समस्याहरू औंल्याएको थियो।
सञ्चालन अनुमति पाएका ११ वटा हेलिकप्टर अपरेटर कम्पनीमा कार्यरत ४७ जना पाइलटहरूले २०८१ असार १६ गते प्राधिकरणमा नलिन्चोक हेलिपोर्टबाट गरिने उड्डयन सञ्चालनले हुने खतरा र जोखिमबारेमा विवरणसहित निवेदन पेस गरिएको पाइएको छ। हेलिकप्टर अपरेटरहरूले आफ्नो विज्ञहरूको समूह बनाई तयार पारेका प्रतिवेदनमा नलिन्चोक हेलिपोर्टको खतरा र जोखिम रहेको भन्ने उल्लेख गरेको देखिएको छ। साथै प्राधिकरणका निर्देशक प्रभाकर चन्द्र मल्लिकसमेत १४ जना विज्ञहरूको समूहले हेलिकप्टर पाइलटहरूले हेलिपोर्ट जोखिमयुक्त रहेको भनी दिएको निवेदनमा छानबिन गरी २०८१ साउन २ मा पेस गरेको थियो।
नलिन्चोक हेलिपोर्टबाट व्यावसायिक उडान सञ्चालनका लागि अहिलेको नै अवस्थामा सञ्चालनमा आउन नसक्ने भनी प्रतिवेदनमा उल्लेख गरेको देखिएको थियो। हेलिपोर्ट निर्माणको सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस मेकानिकल र एरोस्पेस इन्जिनियरिङ विभागका विभागीय प्रमुख डा. सुदीप भट्टराईले नलिन्चोक हेलिपोर्ट उद्देश्यअनुसार प्रयोग प्रचलन आउन नसक्ने भन्नेसमेत बेहोराको प्रतिवेदन दिएका थिए।
आयोगको सार्वजनिक खरिद परामर्श कार्य टोलीले नलिन्चोक हेलिपोर्ट निर्माणको सम्बन्धमा दिएको राय सार्वजनिक खरिद ऐन, नियमावली,नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलगायतको प्रचलित कानुनलाई अन्देखा गरी हेलिपोर्ट निर्माणको खरिद कार्य भएको देखिएको पनि आरोपपत्रमा उल्लेख छ। हेलिपोर्ट सञ्चालनमा ल्याउन भनेको नागरिकको जनधनको क्षति निम्त्याउनु हो भन्नेसमेत बेहोराको राय प्रतिवेदन दिएको देखिएको छ।
हवाई सुरक्षा विज्ञ घनश्यामर राज आचार्यले २०८२ कात्तिक २५ मा पेस गरेको नलिन्चोक हेलिपोर्ट निर्माण र सञ्चालन प्रक्रिया र मापदण्डबारे राय प्रतिवेदनमा सुरक्षाको दृष्टिकोणबाट समेत व्यावसायिक रूपमा हेलिकप्टर सञ्चालन गर्न नसकिने उल्लेख गरेको पाइएको छ।प्राधिकरणको सम्बन्धित कानुनसमेतको आधारमा नलिन्चोक हेलिपोर्ट निर्माण सम्पन्न भएपश्चात् सञ्चालनका लागि नियामक निकायद्वारा प्रमाणीकरण हुनुपर्नेमा सो नगरेको देखिएको छ।


