नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बुधबारदेखि नेतृत्वविहीन बनेको छ। महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरे पछि उनी स्वतः निलम्बित भएका हुन्।
क्यानमा महानिर्देशकको मातहत उपमहानिर्देशक तहका ६ जना अधिकारी छन्। वरीयताक्रम हेर्ने हो भने प्रतापबाबु तिवारी सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः प्रेमनाथ ठाकुर, हंशराज पाण्डे, देवचन्द्र लाल कर्ण, जगन्नाथ निरौला र बाबुराम पौडेलको नाम पर्छ।
क्यानको विगत हेर्दा निमित्त वा स्थायी– दुवै प्रकारका महानिर्देशकहरू प्रायः आन्तरिक रूपमा नै चयन हुने प्रचलन छ। यही कारण, अहिले पनि यिनै अधिकारीहरूमध्येबाट एक जनाले निमित्त जिम्मेवारी पाउने सम्भावना उच्च मानिएको छ।
तर मन्त्रालयले भने अझै आधिकारिक प्रक्रिया सुरु भएको छैन। यद्यपि क्यानले आफ्नो वेबसाइटमा भने महानिर्देशकको रूपमा प्रदीप अधिकारीको नाम हटाइसकेको छ।
यता, प्राधिकरणले यही डिसेम्बर ३१ मा २७औँ वार्षिकोत्सव मनाउँदैछ। सो कार्यक्रमको नेतृत्व समेत नवशिर्षक निमित्त महानिर्देशकले नै सम्हाल्ने भएकाले छिट्टै निर्णय हुने अनुमान गरिएको छ।
महानिर्देशक अधिकारीको कार्यकाल माघ १९ मा सकिँदैछ। दोस्रो कार्यकालको प्रयासमा रहेका उनीमाथि मुद्दा चलेसँगै अब पुनर्नियुक्तिको बाटो बन्द भएको देखिन्छ।
अहिलेसम्मको संकेत हेर्दा वरीयतामा पहिलो स्थानमा रहेका प्रतापबाबु तिवारी निमित्त एमडी बन्ने सम्भावना बलियो देखिएको छ।


