Banijya News

वैदेशिक अनुदान प्राप्ति वार्षिक लक्ष्यको ६.५६ प्रतिशत मात्रै

1
1.1K Shares

चालु आर्थिक वर्षको कात्तिकसम्म सरकारले निर्धारण गरेको कुल लक्ष्यको मात्र ६.५६ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको छ । वार्षिक लक्ष्यभन्दा रकम न्यून भए पनि अघिल्ला वर्षको तुलनामा यस वर्ष सुरुका महिनामै अनुदान प्रवाहमा केही सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार चालु आवमा बजेटमार्फत ५३ अर्ब ४४ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएकामा कात्तिकसम्म जम्मा ३ अर्ब ५० करोड रुपैयाँमात्र भित्रिएको छ ।

चालु आवको बजेटमा सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ । त्यसैअनुसार बजेटमा स्रोत राखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो कात्तिकसम्ममा ३ अर्ब ५० करोड रुपैयाँ अनुदान आएको छ । यो वार्षिक लक्ष्यको ६.५६ प्रतिशत हो ।

अहिले आएको अनुदान बजेटमा राखिएको लक्ष्यका तुलनामा न्यून भए पनि गत वर्षहरुमा यही समयमा आएको अनुदानभन्दा धेरै हो । गत वर्षको बजेटमा ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको थियो । कात्तिक सम्ममा एक पैसा पनि अनुदान आएको थिएन । वर्षको अन्तसम्ममा भने लक्ष्यको झण्डै ४५ प्रतिशत अनुदान आएको थियो ।

गत आवमा मात्र होइन, त्यसअघिका अधिकांश वर्षहरुमा पनि अहिलेको कात्तिकसम्म आए बराबर अनुदान प्राप्त भएको देखिँदैन । महालेखाका अनुसार आव २०८०–८१ मा सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान आउने अपेक्षा गरेको थियो । यसमध्ये कात्तिकसम्ममा २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त भएको थियो । यो वार्षिक लक्ष्यको ५.५२ प्रतिशत हो ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को कात्तिकसम्म वार्षिक लक्ष्यको ८.२६ प्रतिशत अनुदान आएको थियो । त्यस वर्ष बजेटमा ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएकामा कात्तिक सम्ममा ५ अर्ब १६ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसपछिका आवमा कात्तिकसम्ममा एक रुपैयाँ पनि अनुदान आएको थिएन भने आव २०७९–८० मा ६.१६ प्रतिशत आएको थियो ।

चालु आवमा सुरुका महिनामै अनुदान रकम आएकाले समग्रमा यो वर्ष अनुदान प्राप्तिमा सुधार आउन सक्ने संकेत देखिएको छ । हुन त पछिल्ला वर्षहरुमा वैदेशिक अनुदान क्रमशः घट्दै गएको अवस्था छ । सरकारले भने औसतमा ५० अर्ब हाराहारीमा अनुदान प्राप्त हुने लक्ष्य राख्दै आएको छ ।

पछिल्लो एक दशकको अनुदानको लक्ष्य र प्राप्तिलाई हेर्दा औसतमा झण्डै ३६ प्रतिशत मात्र आएको देखिन्छ । सरकारले पछिल्लो दश वर्षमा कुल ६ खर्ब ८३ अर्ब १८ करोड अनुदान प्राप्त हुने लक्ष्य निर्धारण गरेको थियो । तर, यी दश वर्षमा २ खर्ब ४४ अर्ब २५ करोडमात्र अनुदान प्राप्त भएको छ । यो कुल लक्ष्यको ३५.७५ प्रतिशत हो ।

गत वर्ष झण्डै लक्ष्यको ४५ प्रतिशत अनुदान आए पनि त्यसअघिका वर्षको अवस्था राम्रो देखिँदैन । आर्थिक वर्ष २०८०–८१ को अन्तसम्ममा पनि २ अर्ब ७५ करोड रुपैयाँ मात्र अनुदान आएको थियो । यो लक्ष्यको ५.५२ प्रतिशत मात्र हो ।

यस्तै, आव २०७९–८० भरीमा २१ अर्ब ६७ करोड अनुदान आएको थियो । यो लक्ष्यको ३९ प्रतिशत हो । आव २०७८–७९ मा ५९ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेकामा १८ अर्ब २९ करोड रुपैयाँमात्र आएको थियो । यो लक्ष्यको ३०.५३ प्रतिशतमात्र थियो ।

महालेखाका अनुसार आव २०७८–७९ देखि आव २०७५–७६ सम्मका चार वर्षमा वार्षिक लक्ष्यको क्रमशः ३०, २८, ३१ र ३८ प्रतिशत अनुदान आएको थियो ।
समग्रमा हेर्दा सरकारले धेरै वर्षदेखि लक्ष्यको आधा पनि अनुदान ल्याउन सकेको छैन । महालेखाका अनुसार आर्थिक वर्ष २०७४–७५ मा लक्ष्यको ५४ प्रतिशत अनुदान आएको थियो । त्यो वर्ष बजेटमा ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान ल्याउने भनिएकामा ३९ अर्ब ३१ करोड आएको थियो । १० वर्षयताको तथ्यांक हेर्दा यो एकबाहेक अन्य कुनै पनि वर्ष लक्ष्यको आधा अनुदान आएको छैन ।

1

Scroll to Top