चालु आर्थिक वर्ष (आव) को साढे चार महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्च लक्ष्यको ७.३१ प्रतिशत मात्रै हुन सकेको छ। पूर्वाधार निर्माणका लागि विनियोजित बजेट खर्च गर्न नसक्दा यसको प्रत्यक्ष प्रभाव मुलुकको आयातको स्वरूपमा समेत देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको मंसिर २२ गतेसम्मको तथ्याङ्कअनुसार सरकारले विकास निर्माणमा २९ करोड ८३ लाख २६ हजार मात्रै खर्च गरेको छ। यो चालु वर्षका लागि सरकारले राखेको चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँको कुल पुँजीगत बजेट लक्ष्यको अत्यन्तै न्यून हिस्सा हो।
यसअघि सरकारले प्रत्येक वर्ष विकास (पुँजीगत) खर्चमा सुस्तता गरेको भन्दै लक्ष्यभन्दा न्यून खर्च गर्दै आएको थियो ।
पुँजीगत खर्चमा गति आउन नसक्दा पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्रीको आयात अपेक्षित रूपमा बढ्न सकेको छैन। यसको विपरीत, मुलुकको आयात उपभोग्य वस्तुमा अत्यधिक केन्द्रित भएको छ। भन्सार विभागको तथ्याङ्कले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा भएको कुल आयात (रु. ६ खर्ब ९ अर्ब ४५ करोड) मा उपभोग्य वस्तुको हिस्सा अधिकतम रहेको देखाउँछ।
खासगरी, पेट्रोलियम पदार्थको हिस्सा साढे १३ प्रतिशत रहनुका साथै कच्चा भटमास तेलको आयात ४२६.५० प्रतिशतले वृद्धि भएर रु. ३७ अर्ब ९६ करोड पुगेको छ। यस्तै, विलासिताको उपभोग्य वस्तु सुनको आयातमा ५५१.८५ प्रतिशतको भयावह वृद्धि देखिएको छ, जसले रु. १६ अर्ब २३ करोडको आँकडा छोएको छ। खाद्यान्नको आयातमा पनि ४३.८४ प्रतिशतले वृद्धि भएको छ। यसले विकास केन्द्रित आयातभन्दा उपभोग केन्द्रित आयात हावी भएको पुष्टि गर्छ।
सरकारले विकास खर्चमा गति दिन नसक्नुलाई पुरानो ‘रोग’ का रूपमा लिइए पनि यस वर्षको सुरुआतदेखि देखिएका राजनीतिक अस्थिरता र खर्च कार्यान्वयनमा सिर्जित अवरोधलाई अर्थ मन्त्रालयले कारक मानेको छ।
समग्रमा आर्थिक वर्ष (आ.व.) २०८२/८३ को पहिलो चार महिनामा नेपालमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजार रुपैयाँबराबरको आयात भएको छ । यसमा सबैभन्दा बढी साढे १३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ ।
यससँगै, कच्चा भटमास तेलको आयातमा ४२६.५० प्रतिशतले वृद्धि हुँदै ३७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा १५.१२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । कच्चा पाम तेलको आयातमा १४०.९९ प्रतिशतले वृद्धि भई ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, खाद्यान्नको आयातमा ४३.८४ प्रतिशतले वृद्धि भई १५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । तयारी पोसाकको आयातमा ९.७० प्रतिशतले वृद्धि भई रु. १६.९७ अर्ब पुगेको छ । यसैगरी औषधीको आयातमा ५.८३ प्रतिशतले वृद्धि भई १४ अर्ब ९ करोड पुगेको छ ।
दूरसञ्चारका सामग्रीको आयातमा २१.२० प्रतिशतले वृद्धि भई १९ अर्ब ४२ करोड पुगेको भएको छ । यससँगै विलासिताको उपभोग्य वस्तु सुनको आयात ५५१.८५ प्रतिशतले वृद्धि भई १६ अर्ब २३ करोड पुगेको छ ।
पूर्वाधार निर्माणसँग सम्बन्धित उत्पादनहरूको आयात वृद्धि उपभोग्य वस्तुहरूको तुलनामा कम देखिन्छ । भन्सार विभागको कात्तिकसम्मको तथ्यांकअनुसार मेसिनरी तथा पार्ट्सको आयातमा ११.६४ प्रतिशतले वृद्धि भई ४० अर्ब ५९ करोड पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरूको आयातमा १४.४९ प्रतिशतले वृद्धि भई २३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।


