नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाउने गरी सहकारी बैंकका लागि न्यूनतम चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले सहकारी बैंकका लागि पहिलोपटक निर्देशन जारी गर्दै पूँजीगत संरचना, पूँजीकोष, ऋण लगानी, राष्ट्र बैंकले गर्ने कारबाहीलगायत व्यवस्था स्पष्ट पारेको हो ।
निर्देशनमा बैंकको प्राथमिक पूँजीकोष जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत र कुल पूँजीकोष कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ८ प्रतिशत तोकेको छ । तोकिएको पूँजीकोष कायम नगर्ने सहकारी बैंकहरूलाई पूँजीकोष २५ प्रतिशतभन्दा कम भएमा बोनस शेयर वितरणमा रोक, नयाँ शाखा खोल्न निषेध र उच्च व्यवस्थापनको तलब/भत्ता वृद्धिमा रोक लगाउनेदेखि समस्याग्रस्त घोषणा र इजाजतपत्र नै रद्द गर्न सकिने प्रावधान राखिएको छ ।
यस्तै सहकारी बैंकले सदस्य संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतसम्म वा सहकारी बैंकको अघिल्लो त्रैमासको कुल साधारण शेयरको २० प्रतिशतमध्ये जुन कम हुन्छ सो बराबर मात्र ऋण दिन पाउने भएको छ । बैंकले ऋणी संस्थाको सञ्चालक समितिको सामूहिक जमानीमा विनाधितो २५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न सक्ने र यो ऋण बढीमा ५ लाख रुपैयाँसम्मको लघुकर्जा प्रदान गर्ने प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने प्रावधान छ ।
बैंकले सहकारी संस्थालाई परियोजनाको सुरक्षणमा कुल परियोजना मूल्यको बढीमा ८० प्रतिशतसम्म संस्थाको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्नेछ । यस्तै रियल इस्टेटमा कुल कर्जाको बढीमा १० प्रतिशत र रियल इस्टेट एवं आवासीय घर कर्जा दुवैमा २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने सीमा तोकिएको छ । राष्ट्र बैंकबाट हाल सीमित बैंकिङ कारोबारको अनुमति लिएर राष्ट्रिय सहकारी बैंकले कारोबार सञ्चालन गरिरहेको छ ।


