काठमाडौं, भरतपुर र धरानका मेयरहरू संसदीय राजनीतिमा जाने भएसँगै तीनवटै स्थानीय तहमा मेयर पद रिक्त हुने भएको छ । जसको पद पुर्तीका लागी तीनवटै स्थानीय तहमा उपनिर्वाचन गराउन राज्यलाई झण्डै ५० करोड रुपैयाँ खर्चिनुपर्ने देखिएको छ । कमजोर सरकारी आर्थिक अवस्था र नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका कारण सरकारलाई यस्तो ठूलो खर्च व्यहोर्न सकस हुने देखिएकोे छ ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकामा छुट्टाछुट्टै उपनिर्वाचन गराउँदा ठूलो रकम आवश्यक पर्छ । मतदाता संख्या, मतदान केन्द्रको संख्या, सुरक्षाको संवेदनशीलता र शहरी संरचनाका कारण खर्च स्वाभाविक रूपमा बढ्ने देखिएको हो ।
स्रोतका अनुसार काठमाडौं महानगरपालिकामा मात्रै उपनिर्वाचन गराउँदा करिब २५ देखि ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसमा मतपत्र छपाइ, मतदान सामग्री, कर्मचारी परिचालन, सुरक्षा व्यवस्था र भत्ता मुख्य खर्चका शीर्षक हुन् । देशकै ठूलो महानगर भएकाले यहाँ मतदान केन्द्र संख्या धेरै र सुरक्षा व्यवस्थापन खर्चिलो हुने बताइएको छ ।
उता भरतपुर महानगरपालिकामा उपनिर्वाचन गराउँदा करिब १० देखि १२ करोड रुपैयाँ खर्च लाग्न सक्ने आँकलन छ । यहाँ पनि मतदान केन्द्र व्यवस्थापन, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन, सवारीसाधन र भत्तामा ठूलो रकम खर्चिनुपर्ने हुन्छ ।
धरान उपमहानगरपालिकामा भने उपनिर्वाचनको लागत तुलनात्मक रूपमा कम भए पनि ७ देखि ८ करोड रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ । धरानमा पनि मतपत्र छपाइ, मतदान सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र प्राविधिक व्यवस्थापन मुख्य खर्चका क्षेत्र हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको र चालु खर्चको दबाब बढ्दै गएको अवस्थामा थप ५० करोड रुपैयाँ बराबरको निर्वाचन खर्च राज्यका लागि आर्थिक बोझ बन्न सक्छ । त्यसमाथि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले ठूलो स्रोत परिचालन गरिसकेका छन् ।
स्थानीय तह ऐन २०७३ अनुसार रिक्त पदमा उपनिर्वाचन गराउने अधिकार सरकारसँग भए पनि बाँकी कार्यकाल छोटो र आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपनिर्वाचन नगरी कार्यवाहक संरचनाबाट स्थानीय तह सञ्चालन गर्न सकिने कानुनी व्यवस्था छ । यही कारण तीनवटै स्थानीय तहमा उपनिर्वाचन गराउने विषयमा सरकार अनिर्णयको अवस्थामा देखिएको छ ।
यसरी काठमाडौं, भरतपुर र धरानमा उपनिर्वाचन गराउँदा झण्डै ५० करोड रुपैयाँ खर्चिनुपर्ने छ ।


