Banijya News

वाणिज्य बैंकहरूले कमाए २५ अर्ब ७२ करोड खुद नाफा, कुन बैंकले कति ?

1
1.1K Shares

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म)मा नेपालका २० वटा वाणिज्य बैंकहरूले कुल २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी खुद नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले पाँच महिनामै तीन अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसपछि नबिल बैंकले तीन अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंकले एक अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्ट बैंकले एक अर्ब ८९ करोड, एनएमबि बैंकले एक अर्ब ६५ करोड र कुमारी बैंकले एक अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन् । प्रभु बैंकको खुद नाफा एक अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

नाफा सूचीको तल्लो भागमा रहेका बैंकहरूमा सिटिजन्स इन्टरनेसनल बैंकले २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने कृषि विकास बैंकको नाफा ४१ करोड रुपैयाँमा सीमित रहेको छ । यी तथ्यांकले बैंक–बैंकबीच नाफा क्षमतामा ठूलो अन्तर रहेको देखाउँछ ।

बैंकहरूको आम्दानी संरचना हेर्दा अझै पनि अत्यधिक रूपमा ब्याज आम्दानीमै निर्भर रहेको देखिन्छ । मंसिरसम्म २० वटा वाणिज्य बैंकहरूको कुल आम्दानी दुई खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसमध्ये एक खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ ब्याज आम्दानीबाट आएको हो, जुन कुल आम्दानीको ८२.२४ प्रतिशत हो । अधिकांश बैंकहरूको ७५ प्रतिशतभन्दा बढी आम्दानी ब्याजबाटै आएको देखिन्छ ।

एभरेष्ट बैंकको कुल आम्दानीमा ब्याज आम्दानीको हिस्सा ८७.६७ प्रतिशत पुगेको छ । त्यस्तै, प्राइम बैंकको ८७.२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८६.७७ प्रतिशत र ग्लोबल आइएमई बैंकको ८६.५६ प्रतिशत आम्दानी ब्याजमै आधारित छ । स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, कुमारी र प्रभु बैंकको ब्याज आम्दानी अनुपात भने तुलनात्मक रूपमा कम देखिएको छ ।

यस अवधिमा बैंकहरूको ब्याज खर्च पनि उल्लेख्य रहेको छ । २० वटा वाणिज्य बैंकहरूको कुल ब्याज खर्च एक खर्ब १३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कुल खर्चमध्ये ४८.५५ प्रतिशत हिस्सा ब्याज खर्चले ओगटेको छ । निक्षेपमा तिर्नुपर्ने ब्याजदर उच्च हुँदा बैंकहरूको नाफामा दबाब पर्ने जोखिमसमेत देखिन्छ ।

बैंकहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेपमा तिर्ने ब्याज नै उनीहरूको मुख्य खर्च हो । ब्याज खर्चको अनुपात सबैभन्दा बढी हिमालयन बैंकमा ६०.०८ प्रतिशत रहेको छ । कृषि विकास बैंक, एनआइसी एसिया, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकमा पनि ब्याज खर्चको हिस्सा ५० प्रतिशतभन्दा माथि देखिएको छ ।

1

Scroll to Top