सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को सीमा ५० करोड रुपैयाँसम्म मात्रै हुने व्यवस्था गरेको छ। यही ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने व्यवस्था गरेको हो । यसअन्तर्गत तोकिएका उद्योग–व्यवसायमा कुल पुँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाटै स्वीकृत हुनेछ। यसअघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२(२) बमोजिम राजपत्रमा सूचना प्रकाशन गर्दै स्वचालित मार्गबाट एफडीआई स्वीकृत गर्ने व्यवस्था गरिएको थियो। १५ असोज २०८० मा प्रकाशित सूचनाअनुसार स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मको लगानी स्वतः स्वीकृत हुने व्यवस्था कार्यान्वयनमा आएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत विदेशी लगानीकर्ताले अनलाइन आवेदन दिएपछि इमेलमार्फतै स्वीकृति पत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसका आधारमा कम्पनी दर्ता, पुँजी वृद्धि तथा संयुक्त लगानीका प्रक्रिया अघि बढाउन सकिने विभागले जनाएको छ। ‘तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
१५ असोज २०८० मा राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी लगानी ५० करोड रुपैयाँसम्म हुने उल्लेख छ । सरकारले सोही सीमा हटाएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ४२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसाय क्षेत्र तोकेको थियो ।
उक्त ऐनको दफा ४२ को उपदफा २ मा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल, सहज बनाउन ऐन तथा प्रचलित कानुनबमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवा स्वचालित मार्गबाट प्रदान गर्न सक्ने उल्लेख छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली २०७७ को नियम ८ ‘क’ थप गरी स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तेस्रो लगानी सम्मेलनको अवसरमा स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत हुने गरी उद्योग विभागले तयार गरेको विद्युतीय प्रणालीको उद्घाटन गरी विभागले कार्यान्वयनमा ल्याएको हो ।
स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिई स्वतः स्वीकृति प्राप्त गर्न सक्ने जनाएको थियो । विदेशी लगानी स्वीकृत गर्न विदेशी लगानीकर्ताले स्वचालित मार्गमार्फत निवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्ने बताएको थियो । ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योगहरूमा लगानी भित्राउन सक्नेछन् ।
विदेशी लगानीकर्ताहरूले स्वीकृतिकै लागि भोग्नुपर्ने झन्झटिलो प्रक्रियालाई सरल बनाउन खोजिएको हो । सरकारले २०८१ वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनका अवसरमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा १७ संशोधन गर्दै एफडीआई स्वीकृतिको जिम्मेवारी उद्योग विभागलाई नै दिएको छ । यसअघि ६ अर्ब रुपैयाँभन्दा कम एफडीआई मात्रै विभागले स्वीकृत गथ्र्यो । ६ अर्ब रुपैयाँभन्दा बढी लगानी लगानी बोर्डले गर्दै आएको थियो । अहिले जुनसुकै रकमको एफडीआई विभागले नै स्वीकृत गरिरहेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा अप्रभुल रुटमार्फत १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ लगानी स्वीकृत गरिएको छ भने स्वचालित मार्गबाट ३१४ उद्योगमा २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ स्वीकृत गरिएको छ । अटोमेटिक रुटमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्मका उद्योगमा मात्रै स्वीकृत गर्न सकिने व्यवस्था छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणाली आईएमआईएस डट डीओआईएनडटी डट जीओभी डट एनपीमा लगइन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।
प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकताअनुसार सच्याएपछि विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सक्नेछ । विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा निवेदन प्राप्त भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ । त्यस्तो जानकारीका अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ । विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावलीबमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिने विभागले जनाएको छ ।
६ महिनामा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि
चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष एफडीआई प्रतिबद्धता बढेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा ४७५ वटा उद्योगमा विदेशी लगानी स्वीकृत गरिएको विभागको तथ्यांक छ । ‘अप्रभुल रुट’ बाट १६१ र स्वचालित मार्गबाट ३१४ उद्योगमा लगानी स्वीकृत गरिएको हो । कुल २० हजार १ सय २२ जनालाई रोजगारी प्रस्ताव गरिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३१४ उद्योगमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको थियो । त्यसबाट १० हजार २ सय ४४ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।
ठूला उद्योगहरूले कुल प्रतिबद्धताको ठूलो हिस्सा ओगटेका छन् । सातवटा उद्योगमार्फत २३.१४ अर्ब बराबरको लगानी ठूला उद्योगमा आएको छ । साना उद्योगले ४६० वटा परियोजनामार्फत १३.७२ अर्ब रुपैयाँ प्रतिबद्धता आएको छ भने आठवटा परियोजनामार्फत मध्यम उद्योगमा २.३९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो भने पुसमा सबैभन्दा कम आएको थियो । साउनमा २४ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । भदौमा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आउन असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड र मंसिरमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सबैभन्दा कम पुसमा ५९ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । चालु आर्थिक वर्षको पाँच महिनामा साढे ७ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जुन गत आर्थिक वर्षको तुलनामा बढी हो । जबकि गत आर्थिक वर्षको पाँच महिनामा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको थियो ।
विदेशी मुद्रा सञ्चितिको स्रोत कुनै बेला विदेशी ऋण भए पनि अहिले रेमिट्यान्स भइरहेको भन्दै उनले एफडीआई भित्र्याउन सकेको छैन । धेरै एफडीआई भित्रिएको वर्ष पनि कोरोना महामारीअघि करिब २ वर्ष हरेक वर्ष १९ अर्बको हाराहारीमा भित्रिएको थियो । सानो बजार रहेकाले छिमेकी मुलुकसँग व्यापार सम्बन्धलाई पनि लगानीकर्ताहरूले हेर्ने भएकाले छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर नभएकाले पनि लगानी भित्रिन नसकेको हो ।
राष्ट्र बैंकअनुसार सबैभन्दा बढी मंसिरमा ४ अर्ब ९८ करोड १ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सबैभन्दा कम असोजमा ४६ करोड ७४ लाख रुपैयाँ लगानी भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार साउनमा ६९ करोड १५ लाख, भदौमा ५८ करोड १९ लाख र कात्तिकमा ७५ करोड १२ लाख रुपैयाँ भित्रिएको छ । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउन अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ ।


