वैशाख १९, काठमाडौं ।
विदामा स्वदेश आएका कामदारहरुले दक्षिण कोरिया फर्कनका लागि टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा बुधवार सूचना जारी गर्दे दक्षिण कोरियामा काममा फर्कन चाहने कामदारलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा कोरोना परीक्षण गर्न भनेको हो ।
यसअघि सरकारले कोरोना संक्रमण अघि विदामा स्वदेश आएका नेपाली कामदार काममा फर्कन नसक्दा उनीहरुको रोजगारी र रोजगारदाता समस्यामा परेकोले लकडाउनकै समयमा पनि स्वास्थ्य परीक्षण गराएर आफ्नै खर्चमा चार्टड विमानमार्फत कोरिया फर्कन सक्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयपछि विदामा नेपाल रहेका कामदारलाई कोरिया फर्काउन गैरआवासीय नेपाली संघले समन्वय गर्दै नेपाल एयरलाइन्ससँग विमान चार्टडका लागि सम्झौतासमेत गरेको छ ।
अप्रिल ३० मा तय भएकोमा स्वास्थ्य परीक्षणको टुंगो नलागेका कारण उक्त उडान रद्ध भएको थियो । अब कोरिया फर्कन चाहने कामदारहरुको स्वास्थ्य परीक्षण भएपछि जतिसक्दो चाडो यी कामदारहरुलाई कोरिया पुर्याउन उडान तय गरिने संघले जानकारी दिएको छ ।


