बैंशाख २१, फुङलिङ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक निकालिएको छ । ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट सातवटा घर पूर्ण रुपमा जेलेका थिए भने एक घर आगो लाग्नबाट बचाउँनको लागि भत्काईएको थियो । आठ घरमा बस्ने २९ परिवार प्रत्येक्ष प्रभावित भएका छन् भने अन्य छरछिमेक सहितको गणना गर्दा उक्त क्षति भएको प्रहरीको दाबी छ ।
आगलागिबाट भएको जम्मा क्षतिमध्ये व्यक्तिगततर्फ सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँ भएको प्रहरीको अनुमान छ । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, दुई किलो चिनी, दुई लिटर खाने तेल, दुई किलो नुन, तीन किलो आलु, दुई किलो दाल र एक प्याकेट चिउरा वितरण गरिएको छ ।
ताप्लेजुङमा आगोलागी भएको यो चौथो घटना हो । यसअघि सदरमुकामको मुटु मानिएको बिरेन्द्र चोक, सदरमुकामको प्रबेशद्धार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । प्रहरीको तथ्यांक अनुसार आगलागीवाट सबैभन्दा बढी क्षती २०६० चैत १५ गते साँझ बिरेन्द्र चोकको भएको थियो । त्यसवेला ४५ घर जल्दा ५१ करोड क्षती भएको थियो ।


