बैंशाख २१, एजेन्सी ।
मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई शुक्रवार पक्राउ गरेको थियो । पक्राउ पछि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा पक्राउ गरिएका आप्रवासीहरुलाई हतियार बोकेका प्रहरीको घेरामा हालेर जमिनमै बस्न लगाइएको र उनीहरुबीच कुनै सामाजिक दुरी समेत नरहेको देखिन्थियो ।
यसरी फोटो सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले मलेसिया प्रहरीले गरेको धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको थियो । उसले बालबालिका र जोखिममा रहेका व्यक्तिहरुलाई रिहा गर्न आग्रह समेत गरेको छ ।
ह्युमन राइट्स वाचका फिल रोबर्ट्सनले पक्राउ गरिएका आप्रवासीलाई राखिएको क्याम्पमा कोरोना भाइरसको महामारी फैलिन सक्ने र त्यो झन भयावह हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यसरी रिह्रा गर्न भनेपछि मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको हो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ । उनीहरु नहिँडुन् र संक्रमण फैलिने जोखिम नहोस् भनेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । शुक्रवारमात्रै व्यक्तिगत सुरक्षात्मक सामग्री प्रयोग गरेर ठूलो संख्यामा खटिएका प्रहरीले सयौँको संख्यामा आप्रवासी कामदारलाई पक्राउ गरेको थियो ।


