Banijya News

युवा पलायन रोक्न आईटी क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ; अर्थमन्त्री पुन

1
1.1K Shares

अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्टवेयरहरू निर्यात भएको अवस्था रहेको भन्दै आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । उनले युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउने बताए ।

अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्न सक्ने अवस्था रहेको बताए । त्यहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको उनले बताए । अर्थमन्त्री पुनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवाले आईटीमा काम गरिरहेको पनि दाबी गरे । उनले आईटी क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रूपमा निर्यात गर्न सक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको बताए ।

अर्थमन्त्री पुनले सरकारले आईटी क्षेत्रबाहेक अन्य कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य न्यूनतम दायित्वका रूपमा राज्यले प्राथमिकता दिए समय अनुकूल सुधार गर्ने काम गर्ने बताए । उनले स्वास्थ्य शिक्षा सुधारका लागि विश्व विद्यालयको उपकुलपति राजनीतिक भागवण्डाभन्दा पनि प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात गरिएको बताए । उनले बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको बताए ।

1

Scroll to Top