सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले लागू गरेको नयाँ व्यवस्थाअनुसार हालसम्म ११३ वटा कम्पनीले मात्रै आधिकारिक रूपमा घरजग्गा कारोबार गर्ने इजाजत (लाइसेन्स) प्राप्त गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लाइसेन्सका लागि १९७ भन्दा बढी कम्पनीले आवेदन दिएका भए पनि आवश्यक प्रक्रिया पूरा गरेका ११३ कम्पनीलाई मात्रै अनुमति प्रदान गरिएको हो।
गत वर्ष असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित संशोधित व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक वा कानुनी व्यक्तिबीच हुने घरजग्गा कारोबार अब लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। सरकारले यस व्यवस्थामार्फत अनौपचारिक बिचौलियाको प्रभाव घटाउने, सम्पत्ति कारोबारमा पारदर्शिता ल्याउने तथा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रण गर्ने लक्ष्य लिएको जनाएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले गत वैशाख ७ गते सबै सम्बन्धित भूमि प्रशासन कार्यालयलाई परिपत्र गर्दै लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्रै कारोबार गराउन निर्देशन दिएको थियो। त्यसको भोलिपल्ट अर्थात् वैशाख ८ गतेदेखि महानगरपालिका तथा उपमहानगरपालिकाभित्र तीन करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गा कारोबारमा उक्त व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनमा ल्याइएको हो।
हाल काठमाडौंको डिल्लीबजार, ललितपुरको लगनखेल, विराटनगर, इनरुवा, वीरगञ्ज, कलैया, जनकपुरधाम, नेपालगञ्ज, घोराही र धनगढीस्थित भूमि प्रशासन कार्यालयमा लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्रै तोकिएको मापदण्डअनुसार घरजग्गा कारोबार भइरहेको विभागले जनाएको छ। आगामी चरणमा अन्य शहरी क्षेत्रमा पनि यो व्यवस्था विस्तार गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार लाइसेन्स प्राप्त कम्पनीहरूले घरजग्गा बिक्री–खरिदका क्रममा गलत नक्सा, झुटा स्वामित्व विवरण, कृत्रिम मूल्य निर्धारण वा भ्रामक सूचना दिन पाउने छैनन्। उनीहरूले कार्यालयमा इजाजतपत्र स्पष्ट रूपमा प्रदर्शन गर्नुपर्ने, प्रत्येक कारोबारको अभिलेख सुरक्षित राख्नुपर्ने तथा प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र विभागमा विस्तृत विवरण बुझाउनुपर्ने कानुनी दायित्व पनि तोकिएको छ।
विभागका शाखा अधिकृत अर्जुन ज्ञवालीका अनुसार हालसम्म लाइसेन्स प्राप्त कम्पनीहरूको औपचारिक सुपरीवेक्षण सुरु नभए पनि नियमित रूपमा विवरण संकलन र अनुगमन भइरहेको छ। आवश्यक परेमा स्थलगत निरीक्षण तथा कानुनी कारबाहीसमेत गरिने उनले जानकारी दिए।
सरकारले असार मसान्तभित्र सबै घरजग्गा कारोबारीलाई लाइसेन्स लिन आग्रह गरेको थियो। तर अझै ठूलो संख्यामा व्यवसायीले इजाजत नलिएको देखिएकाले सम्बन्धित निकायले थप सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विभागले तत्काल नयाँ आवेदन खुला नगर्ने संकेत दिएको भए पनि हाल प्राप्त आवेदनहरूको प्रक्रिया भने क्रमशः टुंग्याइने जनाएको छ।
रियल इस्टेट क्षेत्रका जानकारहरूका अनुसार नयाँ व्यवस्थाले घरजग्गा कारोबारलाई संस्थागत बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने र राज्यको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि केही व्यवसायीले लाइसेन्स प्रक्रिया थप सहज बनाउन र आवश्यक मापदण्डबारे स्पष्ट निर्देशन दिन सरकारसँग माग गरेका छन्। सरकार भने दीर्घकालीन रूपमा सुरक्षित, विश्वसनीय र पारदर्शी घरजग्गा बजार निर्माण गर्न यो व्यवस्था प्रभावकारी हुने विश्वासमा रहेको छ।


