Banijya News

जोनसन एण्ड जोनसनद्वारा बेबी पाउडर विवाद सुल्झाउन ७ खर्ब ३३अर्ब रकम प्रस्ताव

1
1.1K Shares

जोनसन एण्ड जोनसन (जेएण्डजे) ले आफ्नो ‘बेबी पाउडर’ र ‘ट्याल्क’ युक्त उत्पादनहरूविरुद्ध परेका दशौँ हजार मुद्दाहरू किनारा लगाउन ५.५ अर्ब डलर (करिब ७ खर्ब ३३ अर्ब नेपाली रुपैयाँ) भुक्तानी गर्ने प्रस्ताव अघि सारेको छ। वर्षौँदेखि चलिरहेको कानुनी लडाइँ अन्त्य गर्ने उद्देश्यले यो ऐतिहासिक सम्झौता प्रस्ताव गरिएको हो।

जेएण्डजेका ट्याल्कमा आधारित उत्पादनहरूले ‘डिम्बग्रंथि क्यान्सर’  निम्त्याउने आरोप लगाउँदै हजारौँ उपभोक्ताले अदालतमा मुद्दा दायर गरेका थिए। बेबी पाउडरमा प्रयोग हुने ‘ट्याल्क’ खानीबाट निकालिने खनिज हो, जुन प्रायः क्यान्सरको मुख्य कारक मानिने ‘एस्बेस्टोस’ सँगै पाइन्छ। वादीहरूको मुख्य दाबी यही एस्बेस्टोसको दूषित अंशका कारण क्यान्सर भएको भन्ने रहेको छ।

कम्पनीका मुद्दा सम्बन्धी उपाध्यक्ष एरिक हासले यी सबै आरोपहरू पूर्ण रूपमा ‘निराधार’ रहेको बताएका छन्। वैज्ञानिक अध्ययनहरूले ट्याल्क सुरक्षित रहेको र यसमा क्यान्सरजन्य एस्बेस्टोस नहुने पुष्टि गरेको उनको दाबी छ। तर पनि, लामो समयदेखिको कानुनी झमेला पन्छाएर जीवनोपयोगी औषधि तथा उपकरण उत्पादनको मुख्य लक्ष्यमा केन्द्रित हुन कम्पनी यो सम्झौता गर्न तयार भएको स्पष्ट पारिएको छ।

यो प्रस्तावलाई पूर्णता दिन क्यान्सर पीडितहरूको प्रतिनिधित्व गर्ने ९५ प्रतिशत कानुनी फर्महरूले सहमति जनाउनुपर्नेछ। प्रस्तावित योजनाअनुसार कम्पनीले आगामी वर्ष ३ अर्ब डलरसम्म र बाँकी रकम २०२८ सम्म चुक्ता गर्नेछ। यसअघि नै विवाद बढेपछि कम्पनीले सन् २०२२ मा विश्वभर ट्याल्कमा आधारित बेबी पाउडरको बिक्री बन्द गरी हाल मकैको पिठोमा आधारित ‘कर्नस्टार्च’ प्रयोग गर्न थालिसकेको छ।

1

Scroll to Top