इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ आजभन्दा करिब डेढ वर्षअघि सुदूर पूर्वको आर्थिक समृद्धिको नयाँ ढोका मानिएको थियो। २०८१ मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निकै तामझामका साथ केन्द्रको उद्घाटन गर्दा स्थानीय चिया किसान र उद्यमीहरूमा देखिएको उत्साह अहिले निराशामा परिणत हुन थालेको छ।
१३ करोड रुपैयाँको भारी लगानीमा ठडिएको यो नेपालकै पहिलो अत्याधुनिक चिया अनुसन्धान केन्द्र हो । तर, उद्घाटनको दिन चम्किएका मेसिनहरू आज धुलोले पुरिन थालेका छन्। रिबन काटिए पनि केन्द्रको भित्री सेवा सुरु नहुनुले सरकारी योजनाहरू कार्यान्वयनमा कतिसम्म फितलो हुन्छन् भन्ने एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ। भव्य भवन र अत्याधुनिक सेमिनार हल अहिले केवल बाहिरबाट हेर्ने सो-केशजस्तै बनेका छन्।
यस परियोजनाको असफलताको मुख्य जड कुनै प्राविधिक जटिलता वा बजेटको अभाव नभई एउटा सामान्य खानेपानीको पहुँच नहुनु हो । चियाको गुणस्तर मापन र प्रयोगशाला सञ्चालनका लागि ठुलो मात्रामा शुद्ध पानीको आवश्यकता पर्छ। तर, यति ठुलो संरचना बनाइरहँदा यसको सञ्चालनको मुटु मानिने पानीको व्यवस्थापनमा गम्भीर त्रुटी भयो । सूर्योदय नगरपालिकाका निवर्तमान प्रमुख रणबहादुर राईका अनुसार, ६६ करोडको पञ्चकन्या कन्याम बृहत् खानेपानी आयोजनाबाट यहाँ पानी आपूर्ति गर्ने लक्ष्य राखिएको थियो। उक्त आयोजना २०८१ सम्ममा सम्पन्न भइसक्नुपर्ने भए पनि काममा ढिलाइ हुँदा अनुसन्धान केन्द्र प्यासी बन्न पुग्यो।
हाल ८० प्रतिशत काम सकिएको भनिएको सो आयोजना अझै टुङ्गोमा पुग्न सकेको छैन, जसका कारण चिया परीक्षणका मेसिनहरू परीक्षणकै पर्खाइमा थन्किएका छन्। यो केन्द्र केवल चिया जाँच्ने ठाउँ मात्र होइन, यसलाई नेपाली चियाको ‘हब’का रूपमा विकास गर्ने रणनीतिक योजनाका साथ बनाइएको हो।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्मित यस संरचनाभित्र अन्तर्राष्ट्रिय स्तरको होटल, अत्याधुनिक सेमिनार हल, चिया संग्रहालय, क्याफे र विशेष प्रयोगशाला निर्माण गरिएका छन्। यहाँ विश्वभरका चिया व्यापारी वा चियाविज्ञ (टी-इन्स्पेक्टर) हरू आएर बस्न सक्ने र नेपाली चियाको स्वाद स्थानीय स्तरमै लिएर सम्झौता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
इलामको चियालाई विश्व बजारसँग जोड्नका लागि आवश्यक पर्ने सबै पूर्वाधार यहाँ छन् । तर, यी सबै सुविधाहरू अहिले सञ्चालनको अभावमा निष्क्रिय छन्, जसले गर्दा पर्यटकीय क्षेत्र कन्यामले प्राप्त गर्न सक्ने अतिरिक्त लाभ समेत गुमाइरहेको छ। नेपालमा वार्षिक रूपमा करिब ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गरेको तथ्याङ्क छ, जसले १५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्छ।
इलामको चियाको ९० प्रतिशत हिस्सा निर्यात हुने गरे पनि अहिलेसम्म गुणस्तर मापनका लागि भरपर्दो आफ्नै ल्याब नहुँदा किसान र व्यवसायीहरूले ठुलो मार खेप्नु परेको छ। ७० प्रतिशत चिया भारत जाने गरेकोमा भारतीय ल्याबको रिपोर्टमा भर पर्नुपर्ने बाध्यता छ। यदि यो केन्द्र सञ्चालनमा आएमा चियाको स्वाद, बास्ना र गुणस्तर स्थानीय स्तरमै जाँच हुने थियो।
यसले गर्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्राण्ड र पहिचानका साथ उच्च मूल्य पाउन सक्ने निश्चित थियो। किसानले मिहिनेत गरेर उब्जाएको चियाको ‘भ्यालु’ बढाउन यो केन्द्रले खेल्ने भूमिका निकै महत्त्वपूर्ण भए पनि ढिलाइले चिया क्षेत्रलाई नै घाटा पुर्याइरहेको छ। प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेको यस परियोजनालाई कृषि मन्त्रालयले ‘प्रवर्द्धन केन्द्र’ को रूपमा मात्र व्याख्या गर्ने र नगरपालिकाले सञ्चालनको पूर्ण भार बोक्ने बीचको समन्वय अझै स्पष्ट हुन सकेको छैन।
मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलका अनुसार अनुदान दिएपछि सञ्चालनको जिम्मा पालिकाकै हो । यता, नगरपालिकाले अहिले निजी क्षेत्रसँगको साझेदारी (Public-Private Partnership) मोडलमा जाने तयारी गरिरहेको छ। हालै प्रदेशका आर्थिक मामिला मन्त्री र योजना आयोगको टोलीले गरेको अनुगमनले पनि यसलाई व्यावसायिक रूपमा अघि बढाउन सुझाव दिएको छ। उत्तम प्रगति कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भइसकेको र जनशक्तिको व्यवस्थापन भइरहेको दाबी गरिए पनि कामको सुस्त गतिले स्थानीयमा संशय पैदा गरेको छ।
राज्यको १३ करोड रुपैयाँभन्दा बढीको लगानी खेर जान नदिन र परियोजनाको उद्देश्य सार्थक पार्न नगरपालिका र प्रदेश सरकारले अब ठोस पहल गर्नै पर्छ l केवल ओभरहेड ट्याङ्की बनाएर वा प्राविधिक तयारीका कुरा गरेर मात्र अब जनता सन्तुष्ट हुने अवस्था छैन।
कन्याम जस्तो पर्यटकीय र व्यावसायिक केन्द्रमा बनेको यो सम्पदालाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याएर चिया किसानको जीवनस्तर उकास्ने र नेपाली चियालाई विश्व बजारमा एक नम्बरमा पुर्याउने लक्ष्य प्राप्त गर्न ढिला भइसकेको छ। यदि अझै पनि पानीको अभाव वा व्यवस्थापकीय अन्योललाई बहाना बनाइरहने हो भने, यो केन्द्र भविष्यमा एउटा ‘सरकारी भवन’ को अवशेष मात्र भएर रहने खतरा छ।


