कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय वालिङमार्फत बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत न्यून आय भएको परिवारका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको छ ।
बैङ्कको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले बाल शिक्षा निकेतनका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैङ्कले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारका स्टेशनरी सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैङ्कका पोखरा क्षेत्र प्रमुख ढकालले व्यक्त गरे । उक्त कार्यक्रममा बैङ्कका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


