Banijya News

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका सीईओ पाण्डे पक्राउ

1
1.0K Shares

स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६, बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको हो ।

सिआईबीले लिलामी प्रक्रियामा कानूनी मापदण्ड उल्लङ्घन, धितो सम्पत्ति व्यवस्थापनमा अनियमितता तथा कर्जा असुली प्रक्रियामा त्रुटि भएको आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

स्मार्ट टेलिकम आर्थिक सङ्कटमा परेपछि उसका धितो सम्पत्तिहरू लिलामीमा गएका थिए । तर, लिलामी प्रक्रिया पारदर्शी नभएको, सीमित समूहलाई फाइदा पुग्ने गरी निर्णय गरिएको तथा राज्यलाई नोक्सानी हुन सक्ने आशङ्का उठेपछि अनुसन्धान सुरु गरिएको हो ।

सिआईबीले बैङ्किङ कागजात, ऋण सम्झौता, धितो मूल्याङ्कन प्रतिवेदन तथा लिलामीसम्बन्धी अभिलेखहरू अध्ययन गरिरहेको छ । यस प्रकरणमा बैङ्कका अन्य अधिकारी, कम्पनी प्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी भइरहेको बुझिएको छ । अनुसन्धान जारी रहेकाले थप व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने बताइएको छ ।

1

Scroll to Top