Banijya News

कन्सल्टेन्सीमा धरपकडः ६९ पक्राउपछि अन्य सञ्चालक सम्पर्कबिहीन !

1
1.2K Shares

शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध प्रहरीले व्यापक कारबाही अभियान अघि बढाएको छ । मापदण्डविपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो ।

दर्ता नभएका, नवीकरण नगरेका तथा शैक्षिक परामर्शको आवरणमा म्यानपावरसम्बन्धी कामसमेत गर्दै आएका संस्थाहरू अनुसन्धानको दायरामा परेका छन् । विद्यार्थीबाट प्राप्त उजुरी र प्रारम्भिक प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी छानबिन सुरु गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब दुई हजार कन्सल्टेन्सी दर्ताविनै सञ्चालनमा रहेको अनुमान छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ९५ वटा कन्सल्टेन्सीमा एकैसाथ छापा मारेको थियो ।

उक्त अभियानमा ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार शिक्षा नियमावली र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिकाले तोकेको मापदण्ड उल्लंघन गर्ने संस्थामाथि कारबाही गरिएको हो । ‘दर्ता नभएका, नवीकरण नगरेका र आवश्यक मापदण्ड पूरा नगरेका केन्द्रका सञ्चालक पक्राउ परेका छन्, अन्यको पनि छानबिन जारी छ,’ उनले भने ।

कन्सल्टेन्सीमा प्रहरीले धरपकड गर्न थालेपछि कतिपय सञ्चालकहरू आफ्नो कार्यालयको बोर्डसमेत हटाएर सम्पर्कबिहीन भएका छन् ।
प्रहरी अनुसन्धानमा केही कन्सल्टेन्सीले वैधानिक अनुमति नलिई विदेश रोजगारीसँग सम्बन्धित गतिविधिसमेत सञ्चालन गरेको खुलेको छ । यसले विद्यार्थी ठगी र मानव तस्करीको जोखिम बढाउने संकेत देखिएको प्रहरीको निष्कर्ष छ ।

सरकारी तथ्यांकअनुसार शिक्षा मन्त्रालयमा एक हजार ४७३ कन्सल्टेन्सी दर्ता भएका छन् । तीमध्ये करिब नौ सयले मात्र नियमित नवीकरण गरेका छन् । प्रदेशस्तरमा करिब दुई हजारले अनुमति माग्दै निवेदन दिएको भए पनि करिब पाँच सयले मात्र स्वीकृति पाएका छन् । सरकारले नै अनुमतिमा ढिलाइ गरेकाले कतिपय भने समस्यामा परेका छन् ।

प्रहरीले एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी, इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी, अल्पार एजुकेसन, ग्लोबल ग्लोरी एजुकेसन, रोयल सूर्य एजुकेसन, ब्रेन बृज एजुकेसन, सावित्री अब्रोड, इडब्ल्युसी एजुकेसनका सञ्चालकलाई पक्राउ गरेको हो । त्यस्तै, ब्रेनी इन्टरनेसनल, अक्सफोर्ड स्मार्ट एजुकेसन, गुल्मोहर एजुकेसन, ब्लुम अब्रोड एजुकेसन, अक्सब्रिज फाउन्डेसन ग्लोबल स्टडिज, ज्ञानमार्ग एजुकेसन एन्ड सर्भिस, निको कन्सल्टेन्सी, उरेसी एजुकेसन एन्ड ट्रेनिङ सेन्टर, आक्रुति माटिवेज, मून स्काई कन्सल्टेन्सी, सर्वज्योति एजुकेसन हबका सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार, एडुक्वेस्ट इन्टरनेसनल, प्राइम पाथ, समेथन एजुकेसनल इन्स्टिच्युट, लेक्सिको एजुकेसनल नेटवर्क, गुरुबा इन्टरनेसनल, पास्कल एजुकेसन, पिएनपी एजुकेसन, पाथीभरा एजुकेसनल, मिन्नानो एकेडेमी, क्यानन टुर एन्ड ट्राभल, फ्रेस रुट्स एजुकेसन, कञ्चनजंगा कोरियान भाषाका सञ्चालकलाई पनि पक्राउ गरिएको छ ।

यसैगरी, इपिटोम एजुकेसन हेल्पलाइन, ग्रिनलाइन एजुकेसन, छिन्गु कोरियन, अल्टरनेटिभ इन्टरनेसनल एजुकेसन, मेगाटेक भ्याली एजुकेसन, राइट चान्स एजुकेसन, २४ आवर कन्सल्टेन्सी, प्रोफिसियन्सी लर्निङ एजुकेसन सेन्टर कन्सल्टेन्सीका सञ्चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रहरीको कारबाहीमा युनिभर्सिटी गेटवे एजुकेसन, भिक्ट्री एजुकेसनल, जेएफआर एकेडेमी जापानिज ल्यांग्वेज स्कुल, हिमालयन एजुकेसन ग्रुप सर्भिस, ग्रिनर एजुकेसन, आयुमी नेपाल, ए टु जेड जापान एन्ड कोरियन भाषा, ग्लोबल इम्प्याक्ट एजुकेसन, स्किलपोइन्ट एजुकेसनका सञ्चालक पनि परेका छन् ।

प्रहरीका अनुसार, जेनिसेस एजुकेसन हब, स्टार एजुकेसन, मास्टर्स एकेडेमी एजुकेसन, अल युरोपियन एजुकेसन, जिपिसी नेपाल, सिआर एजुकेसन, एचिमेन्ट एजुकेसन एन्ड भिसा, ग्रिन एप्पल भिसा एन्ड इमिग्रेसन, क्लिक कन्सल्टिङ, फ्युचर बिलोङ्स कन्सल्टेन्सी, द क्लास रूम एजुकेसन प्रालि, आइडिबी ग्लोबल, एनआइएमबी एजुकेसन, इम्पल्स एजुकेसन, भाइब्रान्ट एजुकेसन, ड्रिम एजुकेसन, निप्पोन एज् ग्लोबल एजुकेसन, निट इन्टरनेसनल, निहोन एसिया, सेप्स एजुकेसन एन्ड कन्सल्टेन्सी र वेस्टर्न स्मार्ट सिटी एजुकेसनका सञ्चालकलाई पनि पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यता, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले भने पछिल्ला नियामकीय तथा अनुसन्धान कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्तिले वैधानिक संस्थाको प्रतिष्ठामा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ । साथै, यसले नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि समेत असर पार्न सक्ने चेतावनी दिइएको छ ।

प्रहरीले भने विद्यार्थी ठगी नियन्त्रण र शैक्षिक क्षेत्रको विश्वसनीयता कायम राख्न कारबाही अपरिहार्य भएको स्पष्ट पारेको छ ।

1

Scroll to Top