विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले हेटौंडा–१७, हटियास्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ कम्पनीद्वारा उद्योग परिसरमा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएका छन् ।
कम्पनीका अनुसार वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने लक्ष्यसहित आगामी असार महिनासम्म करिब १,००० भन्दा बढी बिरुवा रोप्ने योजना रहेको छ । वृक्षारोपण कार्यक्रममा कम्पनीका कर्मचारी, व्यवस्थापन पक्ष तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममार्फत उद्योग परिसरलाई थप हराभरा बनाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।
शिवम् सिमेन्टले उत्पादन र व्यवसायिक गतिविधिसँगै वातावरणीय उत्तरदायित्वलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । कम्पनीले हरित वातावरण निर्माण, कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै विभिन्न वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै आयोजना गरिएको यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरित नेपाल निर्माण अभियानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


