पछिल्लो महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । निक्षेप र कर्जा दुवै वृद्धि हुँदा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको बचत ७२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ खर्ब २३ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ८८ अर्बले बढेको देखिएको हो । वाणिज्य बैंकहरूको कुल निक्षेप चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिसम्म ११.०७ प्रतिशत अर्थात् ७ खर्ब २३ अर्ब बढेर ७२ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।
चालु आवको यस अवधिमा सर्वाधिक निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीको निक्षेप ९६ अर्ब रुपैयाँले बढेर ६ खर्ब ७१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्मको अवधिमा बैंकको निक्षेप ५ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो ।
यसपछि राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन धेरै देखिएको छ । उक्त बैंकको निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँले बढेर ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै, नबिल बैंकको निक्षेप असार मसान्तसम्मको तुलनामा ६२ अर्बले बढेर ५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । चालु आवको जेठ मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४४ अर्बले बढेर ५ खर्ब २१ अर्ब, लक्ष्मी सनराइज बैंकको ४८ अर्बले बढेर ४ खर्ब २० अर्ब, कुरमाी बैंकको २७ अर्बले बढेर ३४ खर्ब ७ अर्ब, नेपाल बैंकको ५८ अर्बले बढेर ३ खर्ब ९२ अर्ब र हिमालयन बैंकको ३७ अर्बले बढेर ३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा प्रभु बैंकको निक्षेप मात्रै ३ अर्ब रुपैयाँले घटेर ३ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
त्यसो त, चालु आर्थिक वर्षको जेठसम्ममा कर्जा प्रवाह पनि बढेको छ । चालु आवको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ खर्ब ८८ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४९ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
कर्जा प्रवाहमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकको कर्जा प्रवाह ४४ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ खर्ब ३३ अर्बको कर्जा प्रवाह भएको थियो । यसपछि ग्लोबल आइएमई बैंकको ४ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बैंकको कर्जा प्रवाह ३३ अर्बले बढी हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ४ अर्बले बढेर ३ खर्ब ६० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३२ अर्बले बढेर ३ खर्ब ४१ अर्ब रहेको छ । यता, असारको तुलनामा जेठ मसान्तसम्मको अवधिमा लक्ष्मी सनराइज बैंकको कर्जा प्रवाह ३० अर्बले बढेर ३ खर्ब २१ अर्ब, कुमारी बैंकको ८ अर्बले बढेर ३ खर्ब १ अर्ब र हिमालयन बैंकको ५ अर्बले बढेर २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह पुगेको छ ।
जेठ महिनासम्ममा नेपाल बैंकको २३ अर्बले बढेर ३ खर्ब ५९ अर्ब, एभरेष्ट बैंकको ३० अर्बले बढेर २ खर्ब ५४ अर्ब, सिद्धार्थ बैंकको १९ अर्बले बढेर २ खर्ब ४४ अर्ब, कृषि विकास बैंकको १६ अर्बले बढेर २ खर्ब ४० अर्ब र प्राइम बैंकको १३ अर्बले बढेर २२ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांक छ ।
धेरै वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढ्दा केही बैंकको कर्जा प्रवाहमा कमी आएको छ । चालु आवको समिक्षा अवधिसम्ममा प्रभु बैंकको ५ अर्ब, एनआईसी एशिया बैंकको २७ अर्ब र स्टार्न्डड चार्टड बैंकको १७ अर्बले कर्जा प्रवाह घटेको विवरणमा उल्लेख छ ।


