वित्तीय प्रणालीमा थपिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । यसका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।
केन्द्रीय बैंकले ७९ दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २६ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।


