Banijya News

समितिको पूर्णतापछि लुटिएको सुनबारे निर्णय गर्ने बैंकको आश्वासन

1
1.0K Shares

राष्ट्रिय वाणिज्य बैंकले सुन धितो ऋणी ग्राहकहरुलाई असार मसान्तसम्म आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनबारे सञ्चालक समिति पूर्ण भएपछि निर्णय गर्ने भन्दै बैंकले अहिले आन्दोलन रोक्न आग्रह गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार अहिले बैंकको सञ्चालक समिति पूर्ण छैन । बैंकमा सञ्चालक समितिको पूर्णतापश्चात् बैंकबाट हुने निर्णयअनुसार पीडितलाई उपलब्ध गराइने भएको छ । बैंक ग्राहकहरूको समस्याप्रति संवेदनशील रहेको समेत उनले बताएका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट करिब १८ केजी सुन लुटपाट भएको थियो । आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटमा परी ग्राहकहरूले कर्जा सुरक्षणका लागि राखेको सुन तथा गहनाहरू क्षति भएका थिए ।

लुटपाट भएको सुनका ग्राहकहरूलाई क्षतिपूर्ति दिने सम्बन्धमा बैंक सञ्चालक समितिको २०८२ माघ २८ गतेको बैठकले घटना भएकै मितिको बजार मूल्यमा क्षतिपूर्ति दिने निर्णय गरेको थियो । उक्त निर्णय माघ २९ गते सार्वजनिक गरेको थियो । तर, बैंकको उक्त निर्णयमा असहमति जनाउँदै पीडित ग्राहकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले आफ्नो कूल तौल बराबरको सुन नै बैंकले फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

1

Scroll to Top