पछिल्लो समयमा बैंकहरुमा निक्षेपमा अधिक वृद्धि देखिएको छ । निक्षेप बढ्दो क्रममा रहे पनि ऋण लगानी सोही अनुपातमा हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा रहेको सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रकम तान्ने गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा मात्र राष्ट्र बैंकले ३७२ खर्ब ५४ अर्ब १० करोड बराबरको तरलता प्रशोचन गरेको छ । निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ९४ अर्ब रूपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३४ खर्ब २७२ अर्ब ६० करोड रूपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रूपैयाँ गरी कुल ३७ खर्ब २६६ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन भएको हो । साथै, ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रूपैयाँ तरलता प्रवाह गरी सो तरलता प्रशोचन भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद १९ खर्ब २३५ अर्ब ६५ करोड रूपैयाँ तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ६ अर्ब ५२ करोड खुद खरिद गरी ९४६ अर्ब २६ करोड रूपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी ५६४ अर्ब ११ करोड रूपैयाँ तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी ५५५ अर्ब १० करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी ४२४ अर्ब ८६ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।


