Banijya News

भोटेकोसी हेली रिसोर्टको सम्पत्ति पुनः लिलामीमा, कति छ सम्पत्ति ?

1
1.0K Shares

नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ । पटक–पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले ऋण असुलीका लागि तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले इच्छुक व्यक्ति तथा संस्थाबाट १५ दिनभित्र बोलकबोल आवेदन माग गरेको छ । सूचनाअनुसार असार २९ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिनेछ ।

यसअघि बैंकले दुई चरणमा ऋणी पक्षलाई कर्जा चुक्ता गर्न ३५–३५ दिनको समय दिएको थियो । बैंकले तोकिएको अवधिमा ऋण भुक्तानी नभए कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र धितो सम्पत्ति बिक्रीमार्फत कर्जा असुल गर्ने जनाएको थियो । पहिलो सूचना २०८२ जेठ २७ गते र त्यसपछि जेठ १ गते सूचना प्रकाशित गर्दै समयमै ऋण नतिरे धितो सम्पत्ति लिलाम गरिने चेतावनी दिइएको थियो । असार ५ गते लिलामी गर्ने तयारी गरिए पनि प्रक्रिया पूरा हुन नसकेपछि पुनः सूचना जारी गरिएको हो ।

यसपटक लिलामीमा करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण भएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना समावेश गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार, ऋणी पक्षसँग पटक–पटक सम्पर्क, पत्राचार र ताकेता गर्दा पनि कर्जा नियमित नभएकाले धितो सम्पत्ति बिक्रीको विकल्प रोजिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंक आफैंले लिलामी प्रक्रिया सञ्चालन गर्नेछ । बोलकबोलमा सबैभन्दा बढी रकम प्रस्ताव गर्ने व्यक्तिले कबोल रकमको १० प्रतिशत धरौटी सोही दिन नगद रूपमा बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

रिसोर्टले व्यापारिक आवधिक कर्जा तथा चालू पूँजी कर्जा नेपाल बैंकबाट लिएको थियो । बैंकका अनुसार, सिन्धुपाल्चोकको मार्मिङ–१ मा रहेका कित्ता नम्बर १३६, ५७२, ५७० र १७८ अन्तर्गतका जग्गा, भवन तथा अन्य संरचना धितोका रूपमा राखिएका छन् ।

बैंकले मूलधन र ब्याज दुवै नियमित रूपमा नतिरेको तथा बारम्बारको आग्रहलाई बेवास्ता गरिएकाले कानूनी प्रक्रियाअनुसार सम्पत्ति लिलामी गर्नुपरेको जनाएको छ । भोटेकोसी हेली रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन् । सो रिसोर्टको सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका छन् ।

२०७८ सालदेखि सञ्चालनमा आएको उक्त रिसोर्टलाई चारतारेस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । साथै, रिसोर्टको विस्तार तथा व्यवसायिक विकासका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग रणनीतिक सहकार्य गर्दै भविष्यमा साधारण सेयर (आईपीओ) निष्कासनको तयारीसमेत अघि बढाइएको थियो ।

1

Scroll to Top