Banijya News

डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

1
1.0K Shares

पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएकाले बैंक वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न थालेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १८२ वटा शाखा बन्द गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकले सञ्चालन खर्च घटाउन आवश्यकताअनुसार शाखा समायोजन तथा बन्द गर्न सकिने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम शाखा बन्द गर्न थालेका हुन् । डिजिटल बैंकिङको विस्तार, लागत नियन्त्रण र सञ्चालन दक्षता बढाउने उद्देश्यले शाखा सञ्जाल पुनर्संरचना गरिएको बैंकहरूले बताएका छन् ।

राष्ट्र बैंकका अनुसार, २०८३ जेठ मसान्तसम्म नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०६ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार, शाखा संख्यामा उल्लेख्य गिरावट आएको छ । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) का कुल ११ हजार ५२६ शाखा सञ्चालनमा रहेका थिए । तर, २०८३ जेठ मसान्तसम्म आइपुग्दा यो संख्या घटेर ११ हजार ३४४ मा झरेको छ । अर्थात् ११ महिनाको अवधिमा १८२ शाखा कार्यालय बन्द भएको विवरणबाट देखिन्छ ।

बैंकिङ क्षेत्रमा पछिल्लो समय डिजिटल सेवा विस्तारसँगै भौतिक शाखाको आवश्यकता घट्दै गएको, सञ्चालन खर्च नियन्त्रण गर्ने दबाब बढेको तथा दक्षता अभिवृद्धिका लागि शाखा पुनर्संरचना गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले आगामी दिनमा पनि शाखा समायोजनको क्रम जारी रहने संकेत गरेको छ ।

केन्द्रीय बैंकले शाखा समायोजनको नीति उपयुक्त समयमा ल्याएको एक बैंकर बताउँछन् । उनका अनुसार, ग्राहक वित्तीय कारोबारका लागि बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढेको थियो । केन्द्रीय बैंकको यो व्यवस्थाले बैंकहरुको खर्च पनि कम हुने र डिजिटल कारोबार थप बढ्ने अवस्था देखिन्छ ।

1

Scroll to Top