Banijya News

बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

1
1.0K Shares

पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा तान्ने गरेको छ । यसै क्रममा आज बुधबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा लिने गर्दछ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट तान्ने १०० अर्ब रुपैयाँको बोलकबोल दिउँसो ३ बजे हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्‌वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ९१ दिने निक्षेप संकलन उपकरणको आउँदो असोज २८ गते साँवा तथा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता अधिक रहेको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।

1

Scroll to Top