Banijya News

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सहयोग प्रदान

1
1.0K Shares

महालक्ष्मी विकास बैंकले मुलुकभरका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकले झापाको मेचीनगर–७ स्थित पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिका–४ स्थित सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरको हेटौँडास्थित वंशगोपाल आधारभूत विद्यालय तथा चितवनको गैँडाकोट–१ स्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूका लागि आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको छ ।

त्यस्तै, बैंकको बेलौरी शाखाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, रामनगरस्थित कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ८० थान विद्यालय झोला वितरण गरेको छ । विद्यार्थीको अध्ययनमा सहजता पुर्‍याउने उद्देश्यले असार १२ गते आयोजित कार्यक्रमका बीच झोला वितरण गरिएको हो ।

बैंकको सिमरा शाखाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजलाई एक थान ल्यापटप प्रदान गरेको छ । कलेजको शैक्षिक विकास तथा पठनपाठनलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप उपलब्ध गराइएको बैंकले जनाएको छ ।

त्यसैगरी, बझाङको केदारस्युँ गाउँपालिका–४, बागथलास्थित शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरीमैत्री सूचना केन्द्रका लागि बैंकको बझाङ शाखाले आर्थिक सहयोग गरेको छ । उक्त सहयोगबाट थर्मोमिटर, रक्तचाप मापन गर्ने उपकरण, प्राथमिक उपचार बाकस, स्ट्रेचरलगायत स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गरिनेछ । त्यस्तै, पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित प्रसिद्ध शक्तिपीठ भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी व्यवस्थापनका लागि १० थान डस्टबिनसमेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

साथै, मकवानपुरको भीमफेदी–१, सानुटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आरओ प्रविधिसहितको पिउने पानी संरचना निर्माण गर्न बैंकको हेटौँडा शाखाले आर्थिक सहयोग गरेको छ । त्यस्तै, रौतहटको चन्द्रपुर–१० स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको छ ।

1

Scroll to Top