शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको नौ महिनाको अवधिमा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ९८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा बढेपनि सञ्चालन नाफा भने घटेको छ । सन् २०२४ मा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा गत आवमा घटेर १ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीका अनुसार, गत आवमा २०.९ प्रतिशत नाफा मार्जिन थियो । सन् २०२४ मा २५ प्रतिशत नाफा मार्जिन रहेकोमा २०२५ मा घटेको हो ।
यसैगरी, गत आवमा कच्चा पदार्थको उपयोग बढेको र उच्च बिक्री खर्चका कारण नाफा मार्जिनमा प्रभाव परेको उल्लेख छ । तर, खुद नाफामा सुधार आएको छ । गत आवमा ८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यसअघि सन् २०२४ मा ४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको कुल नगद सञ्चिति बढेर ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ४४ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चिति थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल ऋण भने स्थिर रहेको छ । सन् २०२४ मा १० अर्ब ९८ करोड ३० लाख रुपैयाँ रहेकोमा गत आवमा १० अर्ब ८३ करोड ५० लाख रुपैयाँ कायम भएको छ । त्यसैगरी, कुल बाह्य दायित्व गत आवमा ४.४४ गुणाबाट घटेर ३.२३ गुणामा सिमित भएको छ । कम्पनीअनुसार गत आवमा इक्विटी थप हुँदा कम्पनीको नेटवर्थ बलियो भएको हो । कम्पनीको ऋण सेवा क्षमतामा सुधार आई १.४६ गुणा पुगेको छ । सन् २०२४ मा १.३४ गुणा थियो । त्यस्तै, चालु आवको समीक्षा अवधिमा चालु पुँजी बढेका कारण कम्पनीको कुल ऋण ११ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले वार्षिक ७ लाख मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट र ८ लाख मेट्रिक टन क्षमतामा क्लिंकर उत्पादन गर्दै आएको छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी रिद्धि सिद्धि र मकवानपुर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।


