Banijya News

वैदेशिक व्यापार २४ खर्बभन्दा बढी, व्यापार घाटा पुग्यो पौने १८ खर्ब

1
1.0K Shares

नेपालको कुल वैदेशिक व्यापार गत वर्ष बढेको देखिन्छ । तर, यही अवधिमा निर्यातको तुलनामा आयात बढी हुँदा नेपालको व्यापार घाटा पौने १८ अर्बभन्दा बढी पुगेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब रुपैयाँ नाघेको छ । आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा अन्तर झन् फराकिलो बनेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार, गत आवमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च व्यापार रकम हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबर थियो । समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसैगरी, गत आर्थिक वर्षमा नेपालको निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए ।

आयातको वृद्धिदर निर्यातको तुलनामा उच्च रहेपछि नेपालको व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ पुगेको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

आयात–निर्यात अनुपात पनि ६.५१ बाट बढेर ६.६५ पुगेको छ । अर्थात् नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ । आयातको हिस्सा भने ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ । निर्यातमा सुधार देखिए पनि आयातमाथिको उच्च निर्भरताका कारण नेपालको व्यापार असन्तुलन र घाटाको दबाब कायमै रहेको देखिएको छ ।

1

Scroll to Top