सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन् । खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई निगमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाल आयल निगम मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापन गर्ने सरकारी स्वामित्वको प्रमुख सार्वजनिक संस्थान हो । नयाँ नेतृत्वसँगै निगमको सेवा प्रवाह, आपूर्ति व्यवस्थापन तथा संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कौशल केसी, चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साह र सञ्जीवकुमार देवको नाम मन्त्रिपरिषद्का लागि सिफारिस गरेको थियो ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार सिफारिस समितिको साउन १७ गते बसेको बैठकले मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा अन्तिम तीन जनाको सूचीमा राख्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता र समग्र मूल्यांकनका आधारमा अन्तिम सिफारिस तयार गरिएको मन्त्रालयले जनाएको छ ।
समितिले सिफारिस गरेका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले साहलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
यसअघि आवेदकहरुमध्येबाट छ जना उम्मेदवार सर्टलिस्टमा परेका थिए । सिफारिस समितिको मूल्यांकनका आधारमा छविराज पोखरेल, कौशल केसी, संजीवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव अन्तिम प्रतिस्पर्धामा रहेका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्ता दिएका थिए ।
मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडीको अध्यक्षतामा रहेको सिफारिस समितिमा संस्थान महाशाखा हेर्ने सहसचिव रामबन्धु सुवेदी, रास्वपा नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाण्डेलगायत सदस्य छन् । समितिले अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तीमध्ये निगमकै नायब कार्यकारी निर्देशकबाट सेवा निवृत्त सीए नागेन्द्र साहलाई बलिया दाबेदारका रूपमा लिइएको थियो । धनुषाका साहले निगममा दुई पटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका थिए ।


