विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको उल्लेख्य गिरावटसँगै सानिमा माई हाइड्रोपावर लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २९ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४२ प्रतिशत कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको नाफा घट्नुमा मुख्यतः विद्युत बिक्री आम्दानीमा आएको कमी देखिएको छ । गत आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ६८ करोड ४८ लाख रुपैयाँ रहेको थियो । यसरी एक वर्षको अवधिमा विद्युत बिक्री आम्दानी १७ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।
यद्यपि, कम्पनीको वित्तीय खर्चमा भने उल्लेख्य सुधार भएको छ । गत आवमा कम्पनीको वित्तीय खर्च २ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो खर्च ६ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, वित्तीय आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ९५ लाख ८० हजार रुपैयाँ रहेको वित्तीय आम्दानी गत आवमा ३५ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ८५ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५० पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ६२.४२ गुणा रहेको छ भने तरलता अनुपात १.९८ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।
विद्युत उत्पादन तथा बिक्रीबाट हुने आम्दानीमा आएको कमीले कम्पनीको समग्र नाफामा दबाब परेको देखिए पनि वित्तीय खर्च घट्नुले कम्पनीको वित्तीय व्यवस्थापनमा सुधार भएको संकेत गरेको छ ।

