Banijya News

पाँचतारे होटलमा उद्योगमन्त्रीको छापा, ग्यासको जोहोमाथि लुकाएको आरोप लाग्दा विवाद

1
1.1K Shares

नेपालका पाँचतारे होटेलमा दैनिक ठूलो परिमाणमा खाना पकाउने ग्यास खपत हुने भए पनि केही दिनका लागि आवश्यक सिलिन्डर स्टक राखेको विषयलाई लिएर सरकार र होटल व्यवसायीबीच विवाद देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले नियमित प्रयोगका लागि राखिएको ग्यास सिलिन्डरलाई ‘लुकाएर राखेको’ भन्दै बिहीबार र्‍याडिसन होटेलमा अनुगमन गरिएको जनाएको छ ।

सचिवालयका अनुसार र्‍याडिसन होटेलमा १८४ थान भरिएका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेका थिए । ठूलो संख्यामा सिलिन्डर अनधिकृत रूपमा भण्डारण गरेको आधारमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि सचिवालयले जनाएको छ ।

तर, होटेल व्यवसायीहरूले भने उक्त सिलिन्डर नियमित सञ्चालनका लागि आवश्यक स्टक भएको बताएका छन् । पाँचतारे होटेलमा सामान्य दिनमा ७० वटासम्म र व्यस्त दिनमा १४० वटासम्म खाना पकाउने ग्यास सिलिन्डर खपत हुने व्यवसायीहरूको भनाइ छ । त्यसैले आपूर्ति अवरुद्ध भएको अवस्थामा किचेन सञ्चालन नरोकिने गरी दुईदेखि पाँच दिनसम्म पुग्ने ग्यास अग्रिम रूपमा व्यवस्थापन गरेर राख्नुपर्ने उनीहरूको तर्क छ ।

पाँचतारे होटेल म्यारियटका सञ्चालक व्यवसायी शशिकान्त अग्रवालका अनुसार एउटा पाँचतारे होटेलमा पाँचदेखि सातवटा किचेन हुन्छन् । सामान्य अवस्थामा प्रत्येक किचेनमा करिब १० वटा सिलिन्डर खपत हुने भएकाले दैनिक ७० वटासम्म सिलिन्डर आवश्यक पर्न सक्छ । पर्यटकको चाप, सभा–सम्मेलन तथा विशेष कार्यक्रम भएका दिन भने एउटै किचेनमा २० वटासम्म सिलिन्डर आवश्यक पर्ने उनले बताए । यस्तो अवस्थामा दैनिक खपत १४० वटासम्म पुग्ने उनको भनाइ छ ।

अग्रवालले नेपालमा व्यावसायिक प्रयोजनका लागि १४.२ किलोका सिलिन्डर प्रयोग गर्नुपर्ने भएकाले केही दिनको स्टक राख्दा सिलिन्डरको संख्या धेरै देखिने बताए । भारतसहित अन्य देशमा ठूला होटल, अस्पताल तथा उद्योगका लागि ४५० किलोसम्मका व्यावसायिक सिलिन्डरको व्यवस्था हुने भए पनि नेपालमा त्यस्तो सुविधा नभएको उनको भनाइ छ ।

उनका अनुसार धेरै सिलिन्डर राख्दा सुरक्षा जोखिमसमेत बढ्छ । त्यसैले सरकारले होटल तथा अन्य ठूला व्यवसायका लागि ठूला क्षमताका व्यावसायिक ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीले भने होटलमा ‘छापा’ नभई नियमित अनुगमन गरिएको दाबी गरेका छन् । उनका अनुसार सोल्टी, हायात, एभरेष्ट, र्‍याडिसनलगायत पाँचतारे होटलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही होटलमा एकपटकमा ७०–८० वटासम्म सिलिन्डर खपत हुने र १५० देखि २०० थानसम्म सिलिन्डर जोहो गरेर राखिएको भेटिएको उनले बताए ।

सरकारी पक्षले यसलाई आपूर्ति व्यवस्थापन र कानुनी सीमाको विषय मानेको छ भने व्यवसायीहरूले भने नियमित सञ्चालनका लागि आवश्यक स्टकलाई ‘लुकाएर राखेको’ भन्न नमिल्ने बताएका छन् । यस विवादले ग्यास अभावका बेला होटल तथा ठूला व्यावसायिक प्रतिष्ठानको आपूर्ति व्यवस्थापन र सरकारी अनुगमनबीचको समन्वयमाथि प्रश्न उठाएको छ ।

1

Scroll to Top