नेपालको जलविद्युत क्षेत्रमा ठूला आयोजनाहरूको वित्तीय व्यवस्थापन गर्ने उद्देश्यले स्थापित सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले गत आर्थिक वर्ष २०८२।८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा २७.२९ प्रतिशतको गिरावट आएको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ६७ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ९३ करोड ४३ लाख ३२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको आम्दानी घट्दा नाफामा दबाब परेको हो ।
अघिल्लो वर्ष १ अर्ब ४६ करोड ३० लाख रुपैयाँ कुल राजस्व संकलन गरेको कम्पनीले गत वर्ष जम्मा १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको निक्षेपबाट प्राप्त हुने वित्तीय आम्दानी १ अर्ब ३९ करोड ५० लाख रुपैयाँबाट घटेर ९९ करोड १० लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको चुक्ता पुँजीमा सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ रहेको पुँजी हाल २४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यद्यपि, पुँजी वृद्धिसँगै जगेडा कोषमा भने केही दबाब परेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर ३ अर्ब १५ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ ।
नाफा खुम्चिएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि असर परेको छ । अघिल्लो वर्ष प्रतिशेयर ३.८० रुपैयाँ रहेको आम्दानी हाल २.७३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.१३ रुपैयाँबाट सामान्य घटेर ११२.६५ रुपैयाँ कायम भएको छ ।
नाफा घटे पनि कम्पनीले जलविद्युत् आयोजनाहरूमा गर्ने लगानी र कर्जा प्रवाहलाई भने विस्तार गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ मात्र रहेको लोन टु पावर प्रोजेक्ट शीर्षकको कर्जा प्रवाह गत वर्षको असार मसान्तसम्म आइपुग्दा ८ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ । यसैगरी इक्विटी (शेयर) लगानी पनि ४ अर्ब २३ करोड २३ लाखबाट बढेर ४ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।


