साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत हप्तायता नै निरन्तर घटिरहेको नेप्से परिसूचक आज सोमबार ४३.८९ अंक घटेर २५१३.४२ विन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंक घटेको छ ।
१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३ अर्ब ६४ करोड ८६ लाख ९हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ । त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने ७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशत बढेको छ ।
कारोबारमा आएको मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ ७० पैसा घटेर २७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । उता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, सर्वोत्तम पेन्ट्सको करिब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

