काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ । सामान्य अवस्थामा दैनिक करिब ५० हजार सिलिन्डर खपत हुने उपत्यकामा अहिले माग बढेर एक लाख सिलिन्डरसम्म पुगेको छ । तर, आपूर्ति भने मुस्किलले ३० हजार सिलिन्डरको हाराहारीमा सीमित हुँदा उपभोक्ताले चरम अभाव र लामो लाइनको सामना गर्नुपरेको छ ।
ग्यास लिनका लागि उपत्यकाका विभिन्न डिलर तथा उद्योगमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा घण्टौँ लाइन बसेका उपभोक्तासमेत रित्तो हात फर्किनुपर्ने अवस्था आएको छ ।
नेपाल आयल निगमका अनुसार पछिल्ला तीन दिनमा उपत्यकामा आएको ग्यासको परिमाण मागको तुलनामा निकै कम छ । १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार २ सय ४९ सिलिन्डर मात्रै ग्यास आएको छ । तीन दिनमा करिब तीन लाख सिलिन्डरको माग रहेकोमा त्यसको एकतिहाइ हाराहारी मात्रै आपूर्ति भएको निगमले जनाएको छ ।
निगमका एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार, ग्यास आयातमा समस्या नभए पनि काठमाडौंसम्म ढुवानी गर्न सडक अवरोध मुख्य चुनौती बनेको छ । कृष्णभीरमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भारतबाट बुलेटमा आएको ग्यास काठमाडौंसम्म सिधै ल्याउन नसकिएको हो ।
पृथ्वी राजमार्गबाट बुलेटमै ग्यास ल्याउन नसकेपछि अहिले तराईका उद्योगमा ग्यास अनलोड गरी ट्रकमार्फत सिलिन्डरमा भरेर काठमाडौं पठाउनुपर्ने बाध्यता छ । यसरी ढुवानी गर्दा एकपटकमा ल्याउन सकिने ग्यासको परिमाण घटेको छ । काठमाडौंबाट खाली सिलिन्डर बोकेर तराई पुगेको ट्रकले ग्यास भरेर पुनः काठमाडौं आइपुग्न करिब तीन दिन लाग्ने गरेको निगमले जनाएको छ ।
तराईका उद्योगमा भने भारतबाट ग्यास लिएर आएका बुलेटको चाप बढिरहेको छ । भारतबाट नियमित रूपमा ग्यास आयात भइरहेको भए पनि तराईका उद्योगको बोटलिङ क्षमता तुलनात्मक रूपमा कम भएकाले आयातित ग्यास तत्काल सिलिन्डरमा भर्न नसकिएको निगमका सहायक प्रबन्धक उपेन्द्र सुवेदीले बताए ।
उनका अनुसार, काठमाडौंका दुई दर्जनभन्दा बढी ब्रान्डका सिलिन्डरमा ग्यास भर्नुपर्ने भएकाले व्यवस्थापनमा थप चुनौती छ । सबै उद्योगलाई तीन सिफ्टमा २४सै घण्टा सञ्चालन गर्दा पनि बढीमा करिब १० हजार सिलिन्डरमा मात्रै ग्यास भर्न सकिने अवस्था रहेको उनले बताए । भारतबाट आएका सबै बुलेट समयमै अनलोड गर्नसमेत कठिनाइ भइरहेको उनको भनाइ छ ।
सडकमा देखिएको समस्यालाई ध्यानमा राख्दै खाली सिलिन्डर बोकेका ट्रकलाई कान्ति लोकपथ हुँदै तराई पठाउने र ग्यास भरिएका सिलिन्डरलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं ल्याउने गरी रुट व्यवस्थापन गरिएको छ । तर दुवै सडकमा अत्यधिक जाम हुँदा ढुवानी समय लम्बिएको निगमले जनाएको छ ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले काठमाडौं उपत्यकामा यति ठूलो ग्यास अभाव विगतमा विरलै देखिएको बताए । उनका अनुसार, आपूर्ति मात्रै नभई वितरण प्रणालीमा समेत समस्या देखिएकाले अभाव थप चर्किएको हो । मागको एकतिहाइ पनि आपूर्ति हुन नसक्दा उपभोक्ता मारमा परेको उनको भनाइ छ ।
महर्जनले सर्वसाधारण र व्यावसायिक प्रयोजनका लागि ग्यास वितरणको छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । होटल तथा रेस्टुरेन्टलाई ग्यास नदिने भन्ने हल्लापछि काठमाडौं भित्रिएका ठूलो संख्याका सिलिन्डर व्यावसायिक क्षेत्रमा पुगेको दाबी गर्दै उनले डिलरबाट तत्काल होटल तथा रेस्टुरेन्टलाई ग्यास वितरण रोक्नुपर्ने बताए ।
उनले विगतमा टेकु, तारकेश्वर, चन्द्रागिरि, भक्तपुर र बबरमहललगायत स्थान तोकेर व्यावसायिक प्रयोजनका लागि ग्यास वितरण गरिएजस्तै अहिले पनि निश्चित स्थान तोक्नुपर्ने सुझाव दिए । यसबाट सर्वसाधारणका लागि डिलरमार्फत ग्यास वितरण सहज बनाउन सकिने उनको भनाइ छ ।
२२ दिनमा ४१ हजार टन ग्यास आयात
नेपाल आयल निगमका अनुसार, भारतबाट ग्यास आयातमा भने कमी आएको छैन । भदौ १ देखि २२ गतेसम्म भारतबाट ४१ हजार ३ सय ४६ टन एलपी ग्यास आयात भएको छ । उक्त अवधिमा २ हजार २ सय ९७ बुलेटमार्फत ग्यास नेपाल भित्रिएको निगमले जनाएको छ ।
निगमका निर्देशक उपाध्यायका अनुसार, भारतबाट दैनिक एक सयभन्दा बढी बुलेटमा ग्यास लोड भइरहेको छ । नेपालले माग गरेअनुसार ग्यास उपलब्ध गराउन भारतसमेत तयार रहेको उनले बताए। बिदाका दिनसमेत भारतसँग समन्वय गरी ग्यास लोड गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
निगमले भदौ महिनामा कुल ६० हजार टन ग्यास आयात गर्ने लक्ष्य राखेको छ । तर, आयात पर्याप्त भए पनि सडक अवरोध, ढुवानीमा लागेको अतिरिक्त समय र तराईका उद्योगको सीमित बोटलिङ क्षमताका कारण काठमाडौंमा तत्काल पर्याप्त ग्यास पुर्याउन नसकिएको हो । सडक तथा ढुवानीको समस्या समाधान नभएसम्म उपत्यकामा ग्यास अभाव तत्कालै पूर्ण रूपमा हटाउन चुनौती देखिएको छ ।


