नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्यांकरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ मा मंगलबार निगमको ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्यांकरको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।
सो क्रममा दुईवटा ट्यांकर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्यांकर घटनास्थलबाट भागेर फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्यांकर र एकजना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

