Banijya News

७० प्रतिशत निर्यातको शर्त नपुगेपछि उद्योगमाथि कारबाही गर्दै सेज

1
1.0K Shares

विशेष आर्थिक क्षेत्र (सेज) मा तोकिएको निर्यातसम्बन्धी मापदण्ड पूरा नगर्ने उद्योगमाथि कारबाही हुने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था पूरा गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले सेजको कार्यविधिअनुसार उत्पादनको आवश्यक हिस्सा निर्यात गर्न नसकेपछि निष्कासन गरिएको हो । उक्त उद्योगले उत्पादन गर्ने मेटल ट्यांकी तोकिएको मापदण्डअनुसार निर्यात गर्न नसकेको प्राधिकरणले जनाएको छ ।

विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगले कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था छ । निर्यातमुखी उद्योगलाई लक्षित गरी स्थापना गरिएको सेजमा सरकारले पूर्वाधार, कर तथा भन्सारलगायत विभिन्न क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको छ । त्यसैले तोकिएका शर्त पूरा नगर्ने उद्योगलाई कारबाही गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटरसम्म क्षेत्रफलका ६९ वटा औद्योगिक प्लट रहेका छन् । करिब दुई दशकअघि स्थापना भएको भैरहवा सेज नेपालको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो ।

सेजमा स्थापना भएका उद्योगले उत्पादन गरेका वस्तु तथा संरचना सामान्य उद्योगसरह बिक्री गर्न पाउँदैनन् । सेजबाट बाहिरिँदा उद्योगले निर्माण गरेका संरचना तथा कम्पनीसम्बन्धी व्यवस्थासमेत तोकिएको प्रक्रियाअनुसार व्यवस्थापन गर्नुपर्ने प्रावधान छ ।

उद्योग मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न स्थानमा सेज स्थापना गर्न पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन गर्दै आएको छ । साथै आवश्यक पूर्वाधार निर्माण, कर प्रोत्साहन, भन्सार महसुल छुट तथा सहज नियामक प्रक्रियामार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ ।

हाल भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र सञ्चालनमा छन् भने पाँचखालमा पूर्वाधार विकास तथा थप लगानीकर्ताको खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top