Banijya News

ग्यास बिक्रीमा निगमको कडाइ, डिलर दर्तादेखि स्टक अभिलेखसम्म अनिवार्य

1
1.0K Shares

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन देशभरका ग्यास बिक्रेता तथा डिलरका लागि नयाँ निर्देशन जारी गरेको छ ।

निगमले परिपत्र जारी गर्दै तोकिएको मूल्य, सुरक्षा मापदण्ड तथा बिक्री वितरणसम्बन्धी नियम पूर्ण रूपमा पालना गर्न व्यवसायीलाई सचेत गराएको हो । निगमको विनियमावलीअनुसार ग्यास कारोबार गर्ने सबै फर्म वाणिज्य विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ ।

त्यस्तै, अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई आयकर दर्ता प्रमाणपत्रसमेत लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा नियमविपरीत गतिविधि गर्ने बिक्रेता तथा डिलरलाई प्रचलित कानुन र निगमको विनियमावलीअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्देशनअनुसार डिलर रहेको स्थानसम्म साना लोड सवारी साधन सहज रूपमा आवतजावत गर्न सक्ने बाटो हुनुपर्नेछ । डिलरले सबैले देख्ने स्थानमा ४ फिट लम्बाइ र साढे २ फिट चौडाइको साइनबोर्ड राख्नुपर्नेछ । बोर्डमा आफू कुन–कुन ग्यास उद्योगको आधिकारिक डिलर हो भन्ने विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

ग्यास सिलिन्डरको सुरक्षित भण्डारणका लागि उद्योगबाट प्राप्त सिलिन्डर सुख्खा, चिसो, हावादार तथा छाना भएको स्थानमा राख्नुपर्ने निगमले जनाएको छ । गोदाममा पर्याप्त भेन्टिलेसन र आगो निभाउने उपकरणको व्यवस्था अनिवार्य गरिएको छ । गोदाम र बिक्रीकक्ष अलग–अलग स्थानमा राख्न नपाइने व्यवस्था पनि गरिएको छ ।

बिक्रीमा पारदर्शिता कायम गर्न डिलरले दैनिक स्टक रजिष्टर अद्यावधिक गर्नुपर्नेछ । रजिष्टरमा बिहान पसल खोल्दाको सुरु मौज्दात, दिनभर भएको बिक्री र दिनको अन्तिम मौज्दात स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

उपभोक्तालाई ग्यास बिक्री गर्दा उनीहरूको नाम, घर नम्बर, ठेगाना र फोन नम्बरसमेत रजिष्टरमा अनिवार्य रूपमा राख्नुपर्नेछ । ग्यास बिक्री गर्ने समय निर्धारण गरी सबैले देख्ने स्थानमा सूचना टाँस्नुपर्नेछ । निगमले समय–समयमा तोकेको खुद्रा बिक्री मूल्यभन्दा बढी रकम लिनसमेत पाइने छैन ।

उपभोक्ताको सुरक्षा र अधिकारलाई ध्यानमा राख्दै सिलिन्डरको तौल तथा गुणस्तरमा विशेष ध्यान दिन निगमले निर्देशन दिएको छ । डिलरले उद्योगबाट सिलिन्डर प्राप्त गर्दा सिल र तौल जाँच गर्नुपर्नेछ । बिक्री स्थलमा तौल मेसिन राखी उपभोक्ताले चाहेमा सिलिन्डरको तौल जाँच गराउने व्यवस्था गर्नुपर्नेछ ।

हाल घरेलु प्रयोजनका लागि १४.२ केजी क्षमताको सिलिन्डर बिक्री भइरहेको भन्दै निगमले सोभन्दा कम तौल भएको, ग्यास चुहावट भएको, क्षतिग्रस्त वा पानी तथा फोहोर मिसिएको सिलिन्डर बिक्री गर्न रोक लगाएको छ । यस्ता सिलिन्डरमा विशेष चिन्ह लगाई छुट्टै राख्नुपर्ने र त्यसको अभिलेखसमेत राख्नुपर्नेछ ।

घरेलु प्रयोजनका लागि तोकिएका सिलिन्डर नियमविपरीत व्यापारिक प्रयोजनमा बिक्री वितरण गर्नसमेत पाइने छैन । बिक्रीस्थलमा हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी बिक्रेता स्वयंको हुने निगमले स्पष्ट पारेको छ ।

निगम, सरकार तथा उपभोक्तासम्बद्ध निकायका अधिकारीले आवश्यकताअनुसार जुनसुकै समयमा ग्यासको गुणस्तर, मौज्दात र कागजात जाँच गर्न सक्नेछन् । अनुगमनका क्रममा माग गरिएका सम्पूर्ण कागजात तथा मौज्दात विवरण उपलब्ध गराउनु बिक्रेताको दायित्व हुनेछ । मापदण्ड पालना नगरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले जनाएको छ ।

1

Scroll to Top