नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताका रूपमा रहेका म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ ।
साउन मसान्तमा यस्तो लगानी मूल्य ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार भदौमा म्युचुअल फन्डहरूको सूचीकृत सेयर लगानी मूल्य १ अर्ब ४९ लाख रुपैयाँ अर्थात् १.४७ प्रतिशतले घटेको हो ।
यद्यपि, सूचीकृत सेयरमा लगानी मूल्य घट्दैमा फन्डहरूले सोही बराबरको सेयर बिक्री गरेको भन्ने हुँदैन । फन्डहरूको खरिद–बिक्रीसँगै बजारमा सूचीकृत सेयरको मूल्यमा आएको उतारचढावले पनि कुल लगानी मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ ।
भदौ मसान्तसम्म सूचीकृत सेयरमा सबैभन्दा धेरै लगानी एनआईबीएल सहभागिता फन्डको रहेको छ । उक्त फन्डको सूचीकृत सेयर लगानी मूल्य ८ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ छ । ६० वटा फन्डको कुल सूचीकृत सेयर लगानीमा यसको हिस्सा करिब १३ प्रतिशत रहेको छ । यद्यपि, साउनको तुलनामा यसको लगानी मूल्य ०.९६ प्रतिशतले घटेको छ ।
यस अवधिमा सानिमा इक्विटी फन्ड–२ को सूचीकृत सेयर लगानी मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ । साउनको तुलनामा उक्त फन्डको लगानी मूल्य ३३९.१० प्रतिशतले बढेर भदौ मसान्तमा ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनएमबी ५० को सूचीकृत सेयर लगानी मूल्यमा ठूलो गिरावट देखिएको छ । भदौमा उक्त योजनाको लगानी मूल्य ४९.६९ प्रतिशतले घटेर १७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ ।
अधिकांश फन्डको न्याभ घट्यो
सूचीकृत सेयर लगानी मूल्यसँगै म्युचुअल फन्डहरूको औसत प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । साउनमा १०.४८ रुपैयाँ रहेको औसत न्याभ भदौ मसान्तमा १०.२६ रुपैयाँमा झरेको छ । अर्थात् औसत न्याभ प्रतिइकाइ ०.२१९८ रुपैयाँ अर्थात् करिब २२ पैसाले घटेको हो ।
भदौ मसान्तको न्याभका आधारमा प्रभु स्मार्ट फन्ड अगाडि रहेको छ । यसको प्रतिइकाइ न्याभ १३.०१ रुपैयाँ छ । त्यसपछि हिमालयन ८०–२० को १२.५३ रुपैयाँ र प्रभु सेलेक्ट फन्डको १२ रुपैयाँ रहेको छ ।
मासिक आधारमा सबैभन्दा धेरै न्याभ घट्नेमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ रहेको छ । यसको न्याभ प्रतिइकाइ १.१६ रुपैयाँले घटेर १०.५३ रुपैयाँमा झरेको छ । प्रभु सेलेक्ट फन्डको न्याभ १.०९ रुपैयाँ र कुमारी इक्विटी फन्डको १.०२ रुपैयाँले घटेको छ ।
तर, सबै योजनाको न्याभ भने घटेको छैन । प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको न्याभ ३१ पैसाले बढेर ११.१६ रुपैयाँ पुगेको छ । सिद्धार्थ इक्विटी फन्ड–२ को न्याभ पनि १४ पैसाले बढेर १०.०९ रुपैयाँ कायम भएको छ ।
भदौ मसान्तमा न्याभ न्यून रहेका योजनामा एचएलआई लार्ज क्याप फन्ड र एनआईसी एसिया सेलेक्ट–३० रहेका छन् । यी दुई योजनाको प्रतिइकाइ न्याभ क्रमशः ८.५७ रुपैयाँ र ९.२८ रुपैयाँ रहेको छ ।
सूचीकृत सेयर लगानी मूल्य र औसत न्याभ घटेको अवधिमा म्युचुअल फन्डहरूको बैंक मौज्दात भने साउनको तुलनामा २.८७ प्रतिशतले बढेको छ । यसले फन्डहरूको सम्पत्ति संरचनामा सेयर लगानी र बैंक मौज्दातबीच केही परिवर्तन आएको देखाउँछ ।


