Banijya News

चार आयोजनाको ९६.५ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

1
1.0K Shares

भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट विद्युत् निर्यातका लागि दिएको अनुमति नवीकरण गरेको छ । अनुमति नवीकरण भएसँगै वर्षायाममा ती आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्न नपाइने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भारतले माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो दोर्दी ‘ए’ र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको विद्युत् निर्यात अनुमति नवीकरण गरेको हो । माथिल्लो चमेलियाबाट ३८.८ मेगावाट, सेती नदीबाट २४.२५ मेगावाट, माथिल्लो दोर्दी ‘ए’बाट २४.२५ मेगावाट र माथिल्लो तादीखोलाबाट १०.७० मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिइएको छ ।

यी आयोजनाको विद्युत् निर्यात अनुमति गत जुनदेखि अगस्टसम्मको अवधिमा सकिएको थियो । अनुमति नवीकरण भएपछि आयोजनाहरूबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्री गर्ने बाटो निरन्तर भएको प्राधिकरणले जनाएको छ ।

नेपालले वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत् भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ । अहिले भारततर्फ दैनिक औसत ६०० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । वर्षायाममा विद्युत् उत्पादन बढ्ने भएकाले अतिरिक्त ऊर्जा बिक्रीबाट नेपालले विदेशी मुद्रा आर्जनसमेत गर्दै आएको छ । हिउँदमा भने उत्पादन घट्ने भएकाले नेपालले भारतबाट विद्युत् आयात गर्ने गरेको छ ।

यसैबीच, भोटेकोशी बाढीका कारण त्रिशूली, चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि बंगलादेशतर्फ भइरहेको विद्युत् निर्यात प्रभावित भएको छ । अन्य आयोजनाबाट बंगलादेशमा विद्युत् निर्यात गर्न प्राधिकरणले भारतसँग थप अनुमति मागिरहेको जनाएको छ ।

हालसम्म नेपालले ३७ वटा जलविद्युत् आयोजनाबाट कुल १ हजार २०० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गर्ने अनुमति पाइसकेको छ । तर, पछिल्लो बाढीपहिरोका कारण करिब ४३० मेगावाट क्षमताका आयोजनामा क्षति पुगेपछि भदौमा विद्युत् निर्यातको परिमाण घटेको प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top