Banijya News

दुई अर्ब लागतमा १९४ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिने

1
1.0K Shares

गण्डकी र लुम्बिनी प्रदेशका १९४ वटा स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गरिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) बीच द्विपक्षीय सम्झौता भएको छ । दुवै प्रदेशमा सूचना महामार्ग निर्माण गरी डिजिटल कनेक्टिभिटी विस्तार गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । परियोजनाले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय इन्टरनेट सेवाको पहुँचमा ल्याउने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा कुल २ हजार २१६ किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गरिनेछ । नेटवर्कलाई व्यवस्थित, प्रभावकारी र उच्च क्षमतायुक्त बनाउन ५५ वटा उच्च क्षमताका राउटर तथा २८ वटा डीडब्ल्यूडीएम (डेंस वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ) उपकरण जडान गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याएर डिजिटल डिभाइड अर्थात् डिजिटल खाडल अन्त्य गर्न यो परियोजना महत्त्वपूर्ण हुने बताए । उनले परियोजना निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहकार्यका साथ काम गर्न निर्देशन दिए । साथै, परियोजना कार्यान्वयनका क्रममा मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

परियोजना आगामी ३६ महिनाभित्र अर्थात् तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको कार्यान्वयनका लागि ग्रामीण दूरसञ्चार विकास कोषबाट करसहित अधिकतम २ अर्ब १ करोड रुपैयाँसम्म लागत अनुदान उपलब्ध गराइनेछ । यसबाट सूचना महामार्ग निर्माणका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इन्टरनेट पूर्वाधार विस्तार भएपछि दुवै प्रदेशका ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाले शिक्षा, स्वास्थ्य, सरकारी सेवा र वित्तीय कारोबारमा डिजिटल माध्यमबाट सहज पहुँच प्राप्त गर्न सक्नेछन्। विशेषगरी ई–शिक्षामार्फत अनलाइन अध्ययन, टेलिमेडिसिनमार्फत टाढैबाट स्वास्थ्य परामर्श, ई–गभर्नेन्समार्फत सरकारी सेवा प्रवाह तथा डिजिटल वित्तीय सेवाको उपयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, भरपर्दो इन्टरनेट पूर्वाधारले विपद् व्यवस्थापन, सूचना आदानप्रदान र आपत्कालीन सेवाको प्रभावकारिता बढाउन पनि मद्दत गर्नेछ । डिजिटल सेवा विस्तारसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि, उद्यमशीलता र प्रविधिमा आधारित व्यवसायको विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सरकारले डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखिरहेका बेला गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा सञ्चालन हुने यो परियोजनाले ग्रामीण क्षेत्रलाई डिजिटल सेवासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

1

Scroll to Top