Banijya News

नेपालको पुनर्निर्माणमा सघाउने चीनको प्रतिबद्धता

1
1.0K Shares

चीनले हालै नेपालमा गएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनर्स्थापनामा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आपत्कालीन राहत र उद्धारमा सहयोग गरिसकेको चीनले अब पूर्वाधार पुनर्निर्माण, रोजगारी सिर्जना र विपद् जोखिम न्यूनीकरणमा समेत नेपाललाई साथ दिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालको विपद्पछिको पुनर्निर्माण अभियानमा चीनले सक्रिय भूमिका निर्वाह गर्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेपालको पुनर्निर्माणमा चीनले गर्ने सहयोगबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले प्राकृतिक विपद्का कारण नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताए । विपद्पछिको पुनर्निर्माण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नेपालको अवस्थालाई चीनले नजिकबाट नियालिरहेको जानकारी दिए ।

उनका अनुसार, चीनले प्रभावित नागरिकका घर पुनर्निर्माण, रोजगारी तथा आर्थिक गतिविधि पुनः सञ्चालन र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नेछ । साथै, भविष्यमा हुन सक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि नेपालको क्षमता विकासमा समेत सहकार्य गरिनेछ । विशेषगरी मौसम, जलप्रवाह तथा भूगर्भसम्बन्धी तथ्यांक आदानप्रदान र विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन चीनले सहयोग गर्ने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार बाढीपछि चीनले नेपाललाई नगद सहायता र पाँच खेप अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको थियो । खोज तथा उद्धार कार्यमा सहयोग गर्न सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता भएका २० भन्दा बढी चिनियाँ विज्ञसमेत नेपाल पठाइएको थियो ।

यसैबीच, बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा प्रभावित बस्तीको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ । चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि आर्थिक सहायताको निश्चित रकम र कार्ययोजना भने सार्वजनिक गरेको छैन । आगामी द्विपक्षीय छलफलबाट सहयोगको स्वरूप र परिमाण स्पष्ट हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top