नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो मंगलबार करिब स्थिर रहेको नेप्से बुधबार ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । बुधबार जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।


