Banijya News

नाफा बढे पनि खराब कर्जाको दबाबमा लघुवित्त क्षेत्र

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको समग्र खुद नाफामा सामान्य वृद्धि देखिएको छ । तर खराब कर्जाको बढ्दो दर, कर्जा असुलीमा देखिएको कमजोरी र केही संस्थाको ऋणात्मक वित्तीय अवस्थाले लघुवित्त क्षेत्रको चुनौती भने थपिएको छ । समीक्षा अवधिमा केही संस्थाले नाफामा उल्लेख्य सुधार गरेका छन् भने कतिपयको नाफा घटेको छ । केही संस्था नाफाबाट घाटामा समेत पुगेका छन् ।

लघुवित्त संस्थाहरूले सार्वजनिक गरेका पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म समग्र क्षेत्रको खुद नाफा ३.७४ प्रतिशतले बढेर २ अर्ब १७ करोड ७७ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूको कुल खुद नाफा २ अर्ब ९ करोड ९१ लाख ९२ हजार रुपैयाँ थियो। यसअनुसार एक वर्षमा समग्र नाफा ७ करोड ८५ लाख रुपैयाँले बढेको हो ।

यद्यपि, कुल नाफामा भएको सामान्य वृद्धिले सबै संस्थाको वित्तीय अवस्था सुधार भएको संकेत गर्दैन। केही संस्थाले गरेको उल्लेख्य नाफा वृद्धिका कारण समग्र क्षेत्रको नाफा बढेको देखिए पनि कमजोर कर्जा असुली र खराब कर्जाका कारण थपिएको कर्जा नोक्सानी व्यवस्थाले कतिपय संस्थाको आम्दानीमा दबाब सिर्जना गरेको छ ।

खुद नाफाको आधारमा छिमेक लघुवित्त पहिलो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा २७ करोड ३३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२ प्रतिशत बढी हो । त्यस्तै, डिप्रोक्स लघुवित्त २१ करोड ९३ लाख रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ । कम्पनीको नाफा ८.७६ प्रतिशतले बढेको छ ।

जीवन विकास लघुवित्तले २० करोड १५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३८.१५ प्रतिशतले बढेको हो । त्यसैगरी, नेशनल लघुवित्तले १९ करोड ५ लाख २८ हजार रुपैयाँ नाफा कमाउँदै ३२.०५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

नाफा वृद्धिदरका आधारमा भने एनआईसी एशिया लघुवित्त सबैभन्दा अगाडि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु वर्षको सोही अवधिमा ११ करोड ११ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यससँगै संस्थाको नाफा १ हजार १२२.६७ प्रतिशतले बढेको हो ।

लघुवित्तहरूको नाफामा आएको यस्तो उतारचढावका पछाडि ब्याज आम्दानी, सञ्चालन नाफा, सञ्चालन खर्च तथा कर्जा नोक्सानी व्यवस्थाको भूमिका देखिएको छ । ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएका संस्थाको नाफा बढेको छ भने खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीका लागि बढी रकम छुट्याउनुपर्ने संस्थाको नाफा प्रभावित भएको छ ।

खराब कर्जा २७ प्रतिशतसम्म

लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा खराब कर्जाको अवस्था देखिएको छ । समीक्षा अवधिमा मातृभूमि लघुवित्तको खराब कर्जा अनुपात सबैभन्दा बढी २७.०२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १०.०३ प्रतिशत मात्रै थियो । यसरी एक वर्षमा संस्थाको खराब कर्जा अनुपात १६.९९ प्रतिशत विन्दुले बढेको छ ।

त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा अनुपात २१.७३ प्रतिशत, आरम्भ चौतारीको २१.२६ प्रतिशत, धौलागिरीको २१.०५ प्रतिशत र समता घरेलु लघुवित्तको २०.५० प्रतिशत रहेको छ । यी संस्थाहरूको खराब कर्जा अनुपात २० प्रतिशतभन्दा माथि पुगेको छ ।

यसैगरी, नेष्डो समृद्ध लघुवित्तको खराब कर्जा १९.५२ प्रतिशत, फर्वार्ड माइक्रोफाइनान्सको १८.१३ प्रतिशत, नाडेप लघुवित्तको १७.२७ प्रतिशत र सिवाईसी नेपालको १६.२७ प्रतिशत रहेको छ । उच्च खराब कर्जाले कर्जा असुलीमा समस्या रहेको र संस्थाहरूको आम्दानीमा थप दबाब पर्न सक्ने देखाउँछ ।

तर, केही संस्थाले खराब कर्जा नियन्त्रणमा सुधार गरेका छन् । फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा अनुपात गत वर्षको ४.२४ प्रतिशतबाट घटेर १.९७ प्रतिशतमा झरेको छ । छिमेक लघुवित्तको यस्तो अनुपात २.५१ प्रतिशतबाट घटेर २.२३ प्रतिशत कायम भएको छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको खराब कर्जा १८.६८ प्रतिशतबाट घटेर ११.८४ प्रतिशत र एनआईसी एशिया लघुवित्तको १७.०६ प्रतिशतबाट घटेर १३.८९ प्रतिशतमा आएको छ ।

खराब कर्जा बढ्दा संस्थाहरूले सम्भावित कर्जा नोक्सानीबापत थप रकम व्यवस्था गर्नुपर्ने हुन्छ । यसले सञ्चालन आम्दानी राम्रो भए पनि अन्तिम खुद नाफामा असर पार्न सक्छ ।

ईपीएसमा महिला लघुवित्त अगाडि

प्रतिसेयर आम्दानी (ईपीएस) का आधारमा महिला लघुवित्त पहिलो स्थानमा रहेको छ । कम्पनीको वार्षिकीकरण गरिएको ईपीएस ८०.४० रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३७.२३ रुपैयाँ रहेको थियो । यसरी कम्पनीको ईपीएस एक वर्षमा ४३.१७ रुपैयाँले बढेको छ ।

मिथिला लघुवित्त ६७.९३ रुपैयाँ ईपीएससहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको ६६.२० रुपैयाँ, नेशनल लघुवित्तको ५०.०९ रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ५०.०६ रुपैयाँ ईपीएस रहेको छ ।

अर्कोतर्फ, सिवाईसी नेपाल लघुवित्तको ईपीएस सबैभन्दा कमजोर देखिएको छ । कम्पनीको ईपीएस ऋणात्मक १११.८० रुपैयाँ रहेको छ । आरम्भ चौतारी लघुवित्तको ऋणात्मक २५.६७ रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको ऋणात्मक २५.१७ रुपैयाँ र सामुदायिक लघुवित्तको ऋणात्मक १५.७९ रुपैयाँ रहेको छ ।

विशेषगरी एनआईसी एशिया लघुवित्तको उदाहरणले नाफा वृद्धिदर र प्रतिसेयर आम्दानीबीचको भिन्नता देखाउँछ । संस्थाको खुद नाफा १ हजार प्रतिशतभन्दा बढीले बढे पनि ईपीएस २५.५६ रुपैयाँ मात्रै रहेको छ ।

समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले लघुवित्त क्षेत्रको अवस्था मिश्रित रहेको देखाएको छ । छिमेक, डिप्रोक्स, जीवन विकास र नेशनलजस्ता संस्थाले नाफाको आकारमा बलियो उपस्थिति कायम गर्दा एनआईसी एशियाजस्ता संस्थाले वृद्धिदरमा उल्लेख्य सुधार गरेका छन् । तर, उच्च खराब कर्जा, ऋणात्मक ईपीएस र नाफामा आएको गिरावटले सबै संस्थाको वित्तीय अवस्था समान नरहेको स्पष्ट पारेको छ । आगामी दिनमा कर्जा असुली सुधार, खराब कर्जा नियन्त्रण र सञ्चालन खर्च व्यवस्थापन गर्न सक्ने संस्थाले मात्रै वित्तीय अवस्थामा दिगो सुधार गर्न सक्ने देखिन्छ ।

1

Scroll to Top